News Desk
काठमाडौं- नेपाल चेम्वर अफ कमर्सले नेपाल आर्थिक पत्रकार समाज (सेजन)कार्य समितिका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सम्मानमा शुक्रबार स्वागत कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई वधाइ तथा कार्यकालको सफलताको कामना गर्दै आर्थिक क्षेत्रमा काम गर्ने पत्रकारहरुले निजी क्षेत्रका चुनौति तथा समस्या वारेसदैव पैरवी गरी रहेको र समाचार माध्यममा आर्थिक एजेण्डाले प्राथमिकता पाएको बताए । अध्यक्ष मल्लले आर्थिक समृद्धिको सवालमा समान अवधारणा भएकोले आर्थिक पत्रकारिता र निजी क्षेत्र एकै रथका दुइ पांग्रा भएको जिकिर गरे । मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको अहम भूमिका रहने र निजी क्षेत्रको दीगो विकासले नै आर्थिक विकास तथा रोजगारी अभिवृद्धिलाई टेवा मिल्ने हुँदा निजी क्षेत्र तथा मिडियाको सहकार्यबाटनै निजी क्षेत्रका समस्याहरु सम्वोधन हुने उनले उल्लेख गरे । निजी क्षेत्रको जायज मागलाइ सदैव समाचार सम्प्रेषण गरिदिन आग्रह गर्दै अध्यक्ष मल्लले सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण भएमा निजी क्षेत्रको मनोवल पनि वढन जाने बताए ।
सो अवसरमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्ष जनार्दन बरालले नेपालको सवै भन्दा जेष्ठ संस्था नेपाल चेम्वर अफ कमर्सले नेपाल आर्थिक पत्रकार समाज - (सेजन) का पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गरेकोमा आभार व्यक्त गर्दै सेजनको उद्धेश्यबारे प्रकाश पारे । सेजन अध्यक्ष वरालले सेजन आर्थिक पत्रकारिता क्षेत्रको सबैभन्दा पुरानो संस्था भएको बताउदै सेजन सदैव स्वच्छ व्यवसाय प्रवद्र्धनको पक्षधर भएको र निजी क्षेत्रको सम्वद्र्धनको लागि पनि सुरु देखिनै पैरवी गर्दै आएको बताए । सेजन, पारदर्शिता बिकासका लागि सदैव सचेत रहेको पनि उनले बताए । संबिधान जारी भए पश्चात राजनीतिले मार्ग निर्धारण गरी सकेकोले अबको प्राथमिकता आर्थिक समृद्धि भएकोले निजी क्षेत्रको बिकास हुनु अति जरुरी रहेको बताए । निजी क्षेत्रको प्रवद्र्धन तथा स्वच्छ व्यवसायको बिकासको लागि सेजन नेपाल चेम्वर अफ कमर्स चेम्वरसंग सहकार्य गर्न इच्छुक रहेको पनि उनले उल्लेख गरे ।
कार्यक्रममा सेजनका अध्यक्ष जनार्दन बराल, उपाध्यक्ष सुजन ओली, महासचिव भागवत भट्टराई, सचिव हिमाल पौडेल, कोषाध्यक्ष लक्ष्मी सापकोटा, सदस्यहरु सोभित थपलिया, अच्युत पुरी, इशारा कोईराला, अमर बडुवाल, सिबि अधिकारी तथा चेम्वरका उपाध्यक्ष दीपक श्रेष्ठ, त्रिभुवनधर तुलाधर तथा लिमा अधिकारीको पनि उपस्थिति रहेको थियो ।