News Desk
काठमाडौँ - अघिल्ला तीन कारोबार दिन लगातार ओरालो लागेको सेयर बजारमा सोमबार पनि सोही प्रवृत्ति दोहोरियो, जसका कारण सेयर कारोबार मापक नेप्से परिसूचक १ सय १४ अंक घट्यो ।
यो गिरावटसँगै समग्र नेप्से परिसूचक २ हजार ६ सय ९८.२४ बिन्दुमा ओर्लिएको छ । अघिल्लो कारोबार दिन (गत बिहीबार) को तुलनामा सोमबारको नेप्से ४.०५ प्रतिशत घटेको हो । राष्ट्र बैंकले सेयर कर्जामा गरेको कडाइ, ब्याजदर वृद्धि र लगानीकर्ता अतालिएकाले नेप्से घटेको जानकारहरू बताउँछन् ।
नेप्से घटेपछि लगानीकर्ताको सम्पत्तिको मूल्य (कुल बजार पुँजीकरण) साढे १ खर्ब रुपैयाँभन्दा धेरै घटेको छ । यसअनुसार सोमबार कुल बजार पुँजीकरण ३७ खर्ब ७६ अर्ब रुपैयाँ कायम भएको छ । गत बिहीबार यो ३९ खर्ब ३५ अर्ब रुपैयाँ थियो । केही दिनयता सेयर बजार उच्च अंकले घट्नुको एक मात्र कारण राष्ट्र बैंकले सेयर कर्जामा गरेको कडाइ नै रहेको लगानीकर्ता निर्मल प्रधानको भनाइ छ ।
‘मानिसले ब्याजदर वृद्धिलाई पनि बजार घट्नुको कारण मानिरहेका छन्, जुन सत्य होइन । सेयरमा लगानी गर्न होमिएका व्यक्तिका लागि १/२ प्रतिशत ब्याज बढ्दैमा केही असर पर्दैन,’ उनले भने, ‘एक संस्थाबाट ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोडभन्दा बढी कर्जा लिन नपाइने व्यवस्था नै बजार घट्नुको प्रमुख कारण हो ।’
उक्त व्यवस्थाका कारण बजारमा ठूला लगानीकर्ताले ऋण लिन नसक्ने अवस्था आएको उनले बताए । ‘बजारमा ठूलो परिमाणमा सेयर खरिद गर्ने भनेको ठूलो लगानीकर्ताले नै हो,’ उनले भने, ‘उनीहरूले कर्जा लिन नपाएपछि बजार प्रभावित हुने नै भयो ।’ उक्त व्यवस्था परिमार्जन नहुँदासम्म सेयर बजार तीव्र रूपमा बढ्न नसक्ने उनको भनाइ छ ।
पछिल्ला केही सातायता धेरैजसो दिन सेयर बजार ओरालो लागेको छ । गत साताका पाँच कारोबार दिनमध्ये दुई दिन नेप्से बढ्यो भने तीन दिन घट्यो । दुई दिन बजार बढ्दा करिब ७२ अंक माथि उक्लियो । तीन दिन घट्दा १ सय ३५.४५ अंक तल ओर्लियो । तर साप्ताहिक कारोबारमा भने नेप्से करिब साढे ६३ अंक मात्र घटेको देखिन्छ । सार्वजनिक बिदाका कारण आइतबार सेयर कारोबार बन्द रह्यो ।
नियामक निकायले हस्तक्षेप गरेकै कारण बजारमा ठूलो गिरावट आएको नेपाल उद्योग वाणिज्य महासंघ पुँजी बजार फोरमका सभापति अम्बिका पौडेलले बताए । ‘नियामक निकायहरू आफ्नो नियमन, अनुगमन र सुपरिवेक्षण क्षमता/संयन्त्र बलियो बनाउन लाग्नुको साटो बजार हस्तक्षेपमा लागे,’ उनले भने, ‘५१ कम्पनीको विवरण सार्वजनिक, बैंक तथा वित्तीय संस्थाको सेयर लगानीमा कडाइ, सेयर कर्जामा ४ करोड र १२ करोडको सीमा तोक्नुलगायत काम, कारबाही र नीतिगत व्यवस्थामार्फत बजार हस्तक्षेप भयो ।’
पछिल्ला दिन सेयर बजारको गिरावट स्वाभाविक भएको एक ब्रोकरको भनाइ छ । यसअघि करेक्सनबिना बजार निरन्तर रूपमा बढेको, तरलता अभाव भन्दै ब्याजदर बढेकोलगायत कारण बजार घटेको उनको अनुमान छ । ‘बजारमा धेरै लगानीकर्ता हल्लाकै पछि लाग्ने गरेका छन्,’ उनले भने, ‘उनीहरूले कम्पनीको विश्लेषण नगरी हल्लाको भरमा लगानी निर्णय गर्दा समस्या भयो ।’
सोमबार बजार खुलेदेखि नै नेप्से तीव्र गतिले घट्न थालेको थियो । सोही कारण करिब दुई घण्टाको कारोबारमा नेप्से १ सय १३ अंक घटिसकेको थियो । त्यसपछि केही समय नेप्सेको घट्ने क्रममा कमी आयो । तर त्यो लामो समय टिकेन र बजार पुन: तीव्र गतिले घट्न थाल्यो ।
अन्तत: १ सय १४ अंक घटेर नेप्से बन्द भयो । सोमबार करिब १ लाख ७ हजार ६ सय कारोबारबाट २ सय २५ कम्पनीका १ करोड ७३ लाख ३० हजार ५ सय ३८ कित्ता सेयर किनेबच भए । ती किनबेचबाट ८ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढी हो । गत बिहीबार ९ अर्ब ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सो दिन कारोबारमा आएका सबै उपसूचकको परिसूचक घटेपछि समग्र नेप्सेमा दबाब परेको हो ।