News Desk
काठमाडौं-नेपाल चेम्बर अफ कमर्श अन्तर्गत उर्जा समितिको आयोजनामा नेपालको पावर सिस्टम म्यापिङमा लिडार बिषयक कार्यशाला सम्पन्न भएको छ । कार्यक्रम नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लको प्रमुख आतिथ्यतामा भएको हो ।कार्यक्रममा फिनिस नागरिक विज्ञ भेसा लेपानेनले फिन्ल्याण्डमा विकास गरिएको लिडार प्रविधि बारे कार्यपत्र प्रस्तुत गर्दै नेपालको पावर सिस्टम म्यापिङमा उक्त लिडार प्रविधिलाई प्रभावकारी माध्यमका रुपमा प्रयोगमा ल्याउन सकिने जनाए । सो अवसरमा लेपानेनले लिडारलाई हाईड्रो क्षेत्रमा पावर लाइन, रिजरवेयर आदीको वस्तुस्थिती बुझ्न एयरक्राफ्टको सहायतामा प्रयोग गर्न सकिने जानकारी दिए ।
लेपानेनले लेजर स्क्यानिङ माध्यमबाट पावर लाइनमा रुख र हाँगा बिँगा, झाडी बढेर पार्न सक्ने दख्खल, रिजरभेयर पानीको सतह, लाइन सर्भे, जंगलको घनत्व एवम् सर्भे आदी प्रयोजनको लागि यो माध्यम उत्तम हुने समेत बताए । उच्च क्षमतायुक्त सेन्सर जडित प्रविधि भएकाले पनि यस लिडारले सहि म्यापिङ गर्ने, समस्या पहिचानमा सहजता थप्ने, अनुपातिक रुपमा निकै छरितो र मुल्यका हिसाबले पनि कम लागत पर्न जाने हुँदा यो प्रविधिको माग उच्च रहेको दाबी उनले पेश गरे ।
सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले कार्यक्रमलाई सम्बोधन गर्दै जल सम्पदाको अपार धनी नेपालमा जल उर्जाको सम्भावना औंल्याउदै फिनल्याडमा विकास भएको नुतन प्रविधि नेपालको हितमा प्रयोगमा आउन सकोस भन्ने शुभेच्छा सहित चेम्बरको तर्फबाट शुभकामना व्यक्त गरे ।
कार्यक्रम माझ नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले हाल विश्वमा उर्जाको माग बढदै गई रहेको अवस्थामा कोईला लगायतका खनिजको अभाव चुलिदै गएकोले जलस्रोत उर्जा उत्पादनका लागि उपर्युक्त माध्यम रहेको सन्दर्भ कोटयाउदै नेपालले एक लाख मेघावाट विद्युत उत्पादन गर्न सक्ने सम्भावना बोकेकाले पनि यहाँ लिडार जस्ता प्रविधिको उच्च माग रहन सक्ने औंल्याए ।
कार्यशाला माझ कार्यक्रमका सहभागीहरुले उक्त लिडार प्रविधिको आर्थिक एवम् प्राविधिक पक्ष तथा उपयोगितासँग सम्बन्धित रहेर जिज्ञासा राखेका थिए । बहस एवम् छलफल सहितको उक्त कार्यशाला माझ उठेका जिज्ञासालाई लेपानेनले समाधानार्थ सवाल जवाफ सहित राय पेश गरेका थिए । कार्यक्रममा नेपाल चेम्वर अफ कमर्शका उर्जा समिति सभापति एवम् सदस्यहरु, प्राविधिक लगायतका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।