गण्डकी प्रदेशमा कृषि कर्जा ५७ प्रतिशत बढ्यो, अण्डा र माछा उत्पादनमा उल्लेख्य वृद्धि
News Desk
Nov-12 , 2021 तारिख 03:12 बेलुका

काठमाडौँ — गण्डकी प्रदेशमा कृषि कर्जा उच्च दरले बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको यस प्रदेशको आर्थिक गतिविधि अध्ययनअनुसार कृषि कर्जा २०७७ असार मसान्तको तुलनामा ५७.१ प्रतिशतले बढेको हो । यस प्रदेशमा कुल २६ अर्ब ३७ करोड कृषि कर्जा प्रवाह भएको छ । अघिल्लो वर्षको यस अवधिमा कृषि कर्जा २९.७ प्रतिशतले वृद्धि भएको थियो । कुल कृषि कर्जामध्ये करिव ५६ प्रतिशत कर्जा कास्की (३७ प्रतिशत) र नवलपरासी (पूर्व) (१८.९ प्रतिशत) जिल्लामा मात्रै प्रवाह भएको देखिन्छ । मनाङ र मुस्ताङ जिल्लामा क्रमश: ०.५ र १ प्रतिशत मात्र कर्जा प्रवाह भएको देखिन्छ ।

यद्यपि कुल कर्जामा कृषि कर्जाको अंश १० प्रतिशत भन्दा कम रहेकोले यस क्षेत्रमा अझै थप कर्जा प्रवाह गर्नुपर्ने राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले देखाएको छ । कृषि कर्जा ५७ प्रतिशत बढ्दा प्रदेशमा औद्योगिक कर्जा भने ७ प्रतिशतले बढेको छ । २०७८ असार मसान्तमा कुल औद्योगिक कर्जा ६१ अर्ब ६९ करोड पुगेको छ । २०७८ असार मसान्तमा यस प्रदेशमा कुल कर्जा लगानी ३ खर्ब १५ अर्ब ६५ करोड पुगेको छ । एक वर्षमा कुल कर्जा प्रवाह २७.७ प्रतिशतले बढेको हो ।  यस प्रदेशमा सबैभन्दा बढी १ लाख ६६ हजार ४०२ हेक्टर क्षेत्रफल अर्थात कुल खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलको ३५.७ प्रतिशत क्षेत्रफलमा मकै खेती भएको छ । मकैको उत्पादन खाद्य तथा अन्य बालीको कुल उत्पादनको ३२.३ प्रतिशत रहेको छ । खाद्य तथा अन्य बालीको कुल उत्पादनमा धान उत्पादनको हिस्सा ३०.८ प्रतिशत र आलु उत्पादनको हिस्सा २१.८ प्रतिशत छ ।

आर्थिक वर्ष २०७७/७८ मा दूध उत्पादन १४.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो उत्पादन १२.१ प्रतिशतले घटेको थियो । समीक्षा वर्षमा मासुको उत्पादन ७.८ प्रतिशत र माछाको उत्पादन ५२.५ प्रतिशतले वृद्धि भएको छ । खासगरी बजारमा माछाको बढ्दो मागका कारण कास्की, स्याङ्जा, तनहुँ र म्याग्दी जिल्लाहरुमा व्यवसायिक माछा पालनतर्फ किसानहरु आकर्षित हुँदै गएकाले माछाको उत्पादनमा वृद्धि भएको हो । समीक्षा वर्षमा अण्डाको उत्पादन भने १०६.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो उत्पादन ५०.४ प्रतिशतले वृद्धि भएको थियो । बजारमा अण्डाको बढ्दो मागका कारण नयाँ फार्महरुको स्थापना हुनु र उन्नत जातका कुखुरा पालन गर्ने प्रवृत्तिका कारण अण्डाको उत्पादनमा वृद्धि भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

( कान्तिपुर दैनिक )