News Desk
काठमाडौँ — मदिराको विज्ञापनका विषयमा विज्ञापन बोर्डले जारी गरेको विज्ञप्तिमाथि विज्ञापन व्यवसायीहरूले विरोध जनाएका छन् । बोर्डले बिहीबार मदिराको विज्ञापन गर्न नपाइने जनाउँदै कारबाहीको चेतावनीसहितको विज्ञप्ति जारी गरेको थियो । उक्त विज्ञप्तिप्रति नेपाल विज्ञापन संघ (आन) ले आपत्ति जनाएको हो । विज्ञापन व्यवसायीहरूसँगको छलफलबिनै बोर्डले सूचना जारी गर्नु दुःखद कुरा भएको आनले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘विज्ञापन उद्योग कोभिडपछि विस्तारै बढ्दै गएको अवस्थामा बोर्डले ऐनको हवाला दिएर अहिलेको परिस्थितिको आकलन नगरी सरोकारवालासँगको सहकार्यबिना यस्तो सूचना प्रकाशन गर्नु दुःखद कुरा हो,’ आनको विज्ञप्तिमा भनिएको छ, ‘एकातर्फ सरकारले राजस्व दोब्बर गर्ने लक्ष्य राख्नु, अर्कोतर्फ भइरहेको व्यवसायमा असर गर्ने गरी सूचना प्रकाशन गर्नु विरोधाभासपूर्ण छ ।’ कोभिडबाट थलिएका विज्ञापन व्यवसायलाई नै बन्द गर्ने गरी षड्यन्त्रपूर्वक कदम चालिएको आनले जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटनसँग प्रत्यक्ष जोडिएको यस क्षेत्रबाट सरकारले लिइरहेको अर्बौं रुपैयाँ राजस्वलगायत विषयलाई बेवास्ता गर्दै यस्तो विज्ञापनमा रोक लगाउनु भनेको उद्यमी, विज्ञापनदाता र विज्ञापन व्यवसायीलाई कुठाराघात गर्नु रहेको आनको विज्ञप्तिमा उल्लेख छ ।
बोर्डले कात्तिक २५ मा जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा १ मा ‘मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थलगायत मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न पाइने छैन’ भन्ने व्यवस्था रहेको बताउँदै सूचना निकालेको थियो । सूचनामा विज्ञापन (नियमन गर्ने ऐन, २०७६ को दफा ५ को उपदफा १ (छ) मा ‘प्रचलित कानुनले विज्ञापन गर्न निषेध गरेका विषयमा विज्ञापन गर्न नहुने’ व्यवस्था गरेको बोर्डको विज्ञप्तिमा भनिएको छ । ‘चाडबाडको समयमा कतिपय पत्रपत्रिका लगायत विभिन्न सञ्चारमाध्यममा प्रचलित कानुनविपरीत मदिराका विज्ञापन तथा प्रसारण भएको पाइएको र देशका विभिन्न भागमा राखिएका होर्डिङ बोर्डमा समेत त्यस्ता विज्ञापन देखिएकाले उक्त कार्य ऐनविपरीत छ,’ बोर्डको विज्ञप्तिमा भनिएको छ, ‘मदिरा तथा सुर्तीजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न/नगराउनु तथा होर्डिङ बोर्डमा रहेका विज्ञापनसमेत तत्काल हटाउनु हुन सूचित गरिन्छ ।’
( कान्तिपुर दैनिक )