प्रतिस्पर्धी बन्न उदयपुर सिमेन्टमा अत्याधुनिक मेसिन
News Desk
Nov-17 , 2021 तारिख 01:22 बेलुका

उदयपुर — सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगले पुराना उपकरण र प्रविधि विस्थापन गर्ने भएको छ । उत्पादन क्षमता बढाउँदै निजी क्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्ने उद्देश्यले पुरानो प्रविधि जडित मेसिन विस्थापन गर्न लागिएको हो ।३३ वर्षअघि जडित पुराना मेसिनबाट सिमेन्ट उद्योग चल्दै आएको छ ।  निजी क्षेत्रका सिमेन्ट उद्योगमा अत्याधुनिक प्रविधि छन्, जसका कारण ती सिमेन्ट उद्योगले आफूलाई उत्पादन क्षमता र गुणस्तरमा अब्बल दाबी गर्दै आएका छन् । तर उदयपुर सिमेन्ट उद्योग पुरानै प्रविधि र तीन दशकअघि जडित मेसिन मर्मत गरेको भरमा चलिरहेको छ । त्यसैले उद्योगमा नयाँ प्रविधियुक्त मेसिन जडान गर्न थालिएको हो ।

पुराना मेसिनकै कारण प्लान्टले पूर्ण क्षमतामा क्लिंकर उत्पादन गर्न नसकिरहेको उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले बताए । ‘सिमेन्ट उत्पादन गर्ने प्लान्ट पुरानो हुँदै जाँदा क्लिंकर उत्पादन क्षमतामा ह्रास आएको छ,’ उनले भने, ‘तर ५० करोड रुपैयाँ खर्चेर अत्याधुनिक प्रविधि ल्याउँदा उत्पादन क्षमता दोब्बर पुग्छ ।’ यसले उद्योगको खानीमा रहेको चार सय वर्ष पुग्ने मुख्य कच्चा पदार्थ चुनढुंगा (लाइभस्टोन) समेत प्रयोग बढाउने उनको भनाइ छ । ‘उत्पादन वृद्धि र अन्य सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न स्तरवृद्धिको विकल्प छैन,’ न्यौपानेले भने, ‘त्यसैले नयाँ योजना ल्याइएको हो ।’ प्लान्टमा जडित रोटरी किलको सेलमा आएको खराबीलाई परिवर्तन गर्ने र रिइन्फोर्समेन्ट सस्पेन्सन प्रिहिटर सिस्टम (आरएसपी) जडान गर्ने गरी उद्योगले दुई नयाँ योजना अघि सारेको उनले जानकारी दिए ।

उद्योगले आगामी फागुन १५ भित्र काम सक्ने गरी रोटरी किल मिलको २० मिटर सेल फेर्न लागेको छ । त्यसका लागि ६ करोड ८ लाख रुपैयाँको टेन्डर सम्झौता भइसकेको छ । यसका अतिरिक्त स्तरवृद्धिका अन्य कामका लागि उद्योग सञ्चालक समितिले ५० करोड रुपैयाँको बजेटसमेत पारित गरिसकेको महाप्रबन्धक न्यौपानेले बताए । समितिले पारित गरेको ५० करोड रुपैयाँमध्ये १० करोड आन्तरिक स्रोत र ४० करोड रकम तीन वर्षभित्रमा तिर्ने सर्तमा नेपाल सरकारसँग ऋण लिने उनले जानकारी दिए । सरकारसँग मागिएको ऋण निकासाका लागि उद्योग मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा सिफारिस भइएको न्यौपानेको भनाइ छ । उद्योगको प्रतिदिन ८ सय टन सिमेन्ट उत्पादन गर्ने क्षमता छ ।

( कान्तिपुर दैनिक )