News Desk
काठमाडौँ — चालु आर्थिक वर्षको चार महिनामा अर्थतन्त्रका महत्त्वपूर्ण सूचकहरू झन् खस्किँदै गएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत साउनदेखि कात्तिकसम्म आयात चुलिँदै गएको, शोधनान्तर घाटा बढेको, विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्स उच्च दरले घटेकोलगायत कारण अर्थतन्त्र धराशायी बन्दै गएको प्रतिवेदनले औंल्याएको छ । यस्तो अवस्थामा अर्थतन्त्रलाई सम्भावित संकटबाट जोगाउन अत्यावश्यकबाहेक बस्तुको आयात नियन्त्रण गर्नुका साथै सरकारी खर्च बढाउनुपर्ने विज्ञहरूको सुझाव छ । हालको अवस्थालाई बेवास्ता गरिए निकट भविष्यमै अर्थतन्त्रमा ठूलो संकट आउन सक्ने उनीहरूको आकलन छ ।
अर्थतन्त्रका सबै क्षेत्रमा एकै पटक समस्या आएको सम्भवतः यो पहिलो पटक भएकाले समस्या समाधानमा नीतिनिर्माताहरू जिम्मेवार भएर लाग्नुपर्ने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले बताए । ‘एकातिर अपेक्षित रूपमा सरकारी खर्च हुन सकेन, अर्कोतिर राजस्व संकलन धेरै भयो । अर्थतन्त्रका लागि यो राम्रो होइन,’ उनले भने, ‘शोधनान्तर घाटा तीव्र रूपमा बढिरहेको छ भने विदेशी मुद्रा सञ्चिति घटिरहेको छ ।’ शोधनान्तर स्थिति व्यवस्थापन नै अहिलेको सबैभन्दा ठूलो चुनौती भएको उनले बताए । ‘रोजगारीका लागि बिदेसिने कामदार घटेर रेमिट्यान्स घटेको होइन । रेमिट्यान्समार्फत आउने पैसा गैरकानुनी व्यापारको भुक्तानीमा प्रयोग भयो,’ उनले भने, ‘अहिले न्यून बिजकीकरण, सुन चाँदीलगायत वस्तुहरूको गैरकानुनी ओसारपसार मात्र होइन, पुँजी पलायन र नेपालीमार्फत विदेशमा लगानी पनि बढेको छ ।’ विद्यमान अवस्था सुधारका लागि यी कुराहरूलाई तत्काल रोक्नुपर्ने उनको सुझाव छ । ‘हुन्डीमार्फत रकम ओसारपसार गर्ने गैरकानुनी कारोबारमा संलग्नलाई कारबाही गर्नुपर्छ,’ उनले भने, ‘यस्ता क्रियाकलापमा संलग्न व्यक्तिबारे राज्य संयन्त्र जानकार छ, मात्र इच्छाशक्ति हुनुपर्यो ।’
राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो चार महिनामा मुलुकको शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोड रुपैयाँले घाटामा छ । गत आवको यही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १० अर्ब ६५ करोड रुपैयाँले बचतमा थियो । ‘अमेरिकी डलरमा गत आवको यही अवधिमा ९३ करोड १७ लाखले बचतमा रहेको शोधनान्तर स्थिति गत कात्तिकमा १ अर्ब २६ करोडले घाटामा रहेको छ,’ प्रतिवेदनमा भनिएको छ । चालु आर्थिक वर्षका सबै महिनामा शोधनान्तर स्थिति घाटामा छ । गत असारमा १ अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको शोधनान्तर साउनमा ३८ अर्ब ७५ करोड, भदौमा ८३ अर्ब ४१ करोड र असोजमा ७६ अर्ब १३ करोड रुपैयाँले घाटामा थियो । भुक्तानी सन्तुलन मुलुक भित्रिने र बाहिरिने विदेशी मुद्राको कारोबार देखाउने सूचक हो । मुलुक भित्रिनेभन्दा धेरै विदेशी मुद्रा बाहिरिँदा शोधनान्तर स्थिति घाटामा जान्छ । अहिले त्यही भएको हो । हरेक महिनामा यस्तो घाटा बढ्दो छ । आन्तरिक र बाह्य क्षेत्रबीचको सन्तुलन मिल्न नसक्दा अर्थतन्त्रका महत्त्वपूर्ण सूचकहरू ऋणात्मक भएको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाको बुझाइ छ ।
कोरोना महामारीको दोस्रो लहर मत्थर भएपछि निजी क्षेत्रको आर्थिक गतिविधि उल्लेख्य रूपमा बढेको र सोही अनुपातमा सरकारी खर्च र अन्य स्रोत व्यवस्थापन हुन नसक्दा यस्तो अवस्था आएको उनले बताए । ‘चार महिनामै बैंकहरूको कर्जा वृद्धि ३१ प्रतिशत र निक्षेप वृद्धि १७ प्रतिशत छ । यसले असन्तुलन ल्यायो । निजी क्षेत्रको गतिविधि बढ्यो तर अपेक्षित रूपमा रेमिट्यान्स आएन । यसको प्रत्यक्ष असर शोधनान्तरमा पर्यो,’ उनले भने, ‘आयात निरन्तर बढिरह्यो । यसले विदेशी मुद्रा सञ्चितिमा असर पर्यो ।’ विद्यमान समस्या समाधानका लागि सरकार र राष्ट्र बैंक संयमित भएर सुधारका कदम चाल्नुपर्ने उनको सुझाव छ । ‘सरकारले अत्यावश्यकबाहेक वस्तु तथा सामग्री आयात तत्काल नियन्त्रण गर्नुपर्छ,’ उनले भने, ‘बैंक तथा वित्तीय संस्थाले अनुत्पादक तथा विलासिताका सामग्री आयातमा प्रवाह गर्दै आएको कर्जा प्रवाह सीमामा कडाइ गर्नुपर्ने देखिन्छ ।’ यस्तो अवस्थामा सरकारले वैदेशिक ऋण र सहायता परिचालनमा विशेष पहल गर्नुपर्ने उनले सुझाए ।
११५ ले घट्यो विदेशी मुद्रा सञ्चिति
चालु आवको चार महिनामा मुलुकको विदेशी मुद्रा सञ्चिति करिब १ खर्ब ५४ अर्ब रुपैयाँले घटेको छ । जसअनुसार गत कात्तिकमा कुल विदेशी मुद्रा सञ्चिति १२ खर्ब ४४ अर्ब ८५ करोड रुपैयाँ छ । गत असारको तुलनामा यो करिब ११ प्रतिशतले घटेको हो । गत असारमा कुल विदेशी मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ थियो । ‘अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ कात्तिक मसान्तमा १०.९ प्रतिशतले कमी आई १० अर्ब ४७ करोड कायम भएको छ,’ प्रतिवेदनमा उल्लेख छ । यो अवधिको कुल विदेशी मुद्रा सञ्चितिले ७.९ महिनाको वस्तु आयात र ७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले दाबी गरेको छ । यो राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति कायम राख्न कायम गरेको वार्षिक लक्ष्य हाराहारीमा हो । चालु आवको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले कम्तीमा ७ महिनाका लागि वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य तय गरेको छ ।
३ खर्ब १२ अर्ब रेमिट्यान्स भित्रियो
गत साउनदेखि कात्तिक मसान्तसम्म रेमिट्यान्समार्फत ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आवको यही अवधिको तुलनामा रेमिट्यान्स ७.५ प्रतिशतले घटेको हो । गत आवको यही अवधिमा रेमिट्यान्स आप्रवाह ११.२ प्रतिशतले बढेको थियो । तर गत साउनयता रेमिट्यान्स लगातार घटिरहेको छ । जसअनुसार साउनमा १८.१, भदौमा ६.३, असोजमा ७.६ र कात्तिकमा ७.५ प्रतिशतले घटेको देखिन्छ । ‘अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले कमी आई २ अर्ब ६३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७६.४ प्रतिशतले बढेको थियो,’ राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
अन्य महिनाको तुलनामा भदौ, असोज र कात्तिक रेमिट्यान्स भित्रिन राम्रो सिजन मानिन्छ । हिन्दु धर्मावलम्बीहरूको मुख्य पर्व तीज, दसैं, तिहार पर्ने भएकाले पनि यी महिनामा धेरै रेमिट्यान्स आउने गर्छ । गत आवको भदौ र असोजमा कोरोना महामारीको जोखिम धेरै थियो । नेपालमा धेरै रेमिट्यान्स भित्रिने अधिकांश राष्ट्रमा पनि निषेधाज्ञा थियो । त्यस्तो अवस्थामा पनि रेमिट्यान्स दोहोरो अंकले बढेको थियो । तर यो आवमा बेग्लै परिस्थिति देखियो । अहिले गत आवको तुलनामा कोरोना महामारीको जोखिम कम छ । धेरै नेपाली काम गर्न जाने प्रमुख राष्ट्रहरूले राम्रो आर्थिक सुधार गरेका छन् । तर रेमिट्यान्स भने बढ्न सकेको छैन ।
हुन्डीलगायत रकम ओसारपसार गर्ने अनौपचारिक माध्यमहरूको चहलपहल बढेकाले वित्तीय प्रणालीबाट आउने रेमिट्यान्स घटेको जानकारहरू बताउँछन् । आयात निरन्तर बढेकाले कर छल्नका लागि न्यून बिजकीकरणमार्फत ल्याइएका सामानको भुक्तानी हुन पनि हुन्डीलगायत गतिविधि बढेकाले रेमिट्यान्स घटेको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष श्रेष्ठले बताए । तर गत कात्तिकसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या बढेर ९६ हजार ३ सय ८२ पुगेको छ । गत आवको यही अवधिमा यस्तो संख्या ९५.७ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४९.१ प्रतिशतले वृद्धि भई ५९ हजार ७ सय २३ पुगेको छ । गत आवको पहिलो ४ महिनामा यस्तो संख्या ७८.९ प्रतिशतले घटेको थियो ।
मूल्यवृद्धि ५.३२ प्रतिशत
गत कात्तिकमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ५.३२ प्रतिशत कायम भएको छ । गत आवको यही अवधिमा ४.४२ प्रतिशत कायम थियो । गत असोजको तुलनामा मूल्य वृद्धिदर करिब १.२७ प्रतिशत बिन्दुले बढी हो । यस्तै, २०७७ कात्तिकमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ४.०५ प्रतिशत थियो । आयात बढेसँगै वस्तु तथा सेवाको मूल्य बढेकाले समग्र मूल्य वृद्धिदर उकालो लागेको हो । गत कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ४.७९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ५.७३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, गत आवको तुलनामा गत कात्तिकमा घिउ तथा तेलको मूल्यवृद्धि २९.११, यातायातको १२.३६, माछा तथा मासुको १०.९१, गैरमदिराजन्य पेय पदार्थको १०.७०, सुर्तीजन्य वस्तुको १०.३० र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि १०.२४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।
( कान्तिपुर दैनिक )