नेपाल चेम्बर अफ कमर्सको ७० औ वार्षिकोत्सवको अवसरमा प्रकाशित हुलाक टिकटको प्रथम दिवशीय आवरणमा टांचा प्रदान
News Desk
Dec-31 , 2021 तारिख 04:45 बेलुका

काठमाडौं | नेपाल चेम्बर अफ कमर्सको ७० औ वार्षिकोत्सवको अवसरमा प्रकाशित रु ५ दरको हुलाक टिकटको प्रथम दिवशीय आवरणमा संचार तथा सूचना प्रबिधि मन्त्री ज्ञानेन्द्र वहादुर कार्कीबाट प्रथम दिवशीय टांचा प्रदान गर्ने कार्य सम्पन्न भयोे । चेम्वर भवनमा आयोजित उक्त कार्यक्रममा प्रमूख अतिथि संचार तथा सूचना प्रबिधि मन्त्री ज्ञानेन्द्र वहादुर कार्कीले प्रजातन्त्र वहाली पश्चात ७ दशक अघिनै मुलुकमा सुशासन मार्फत राज्यले आर्थिक समृद्धिको लक्ष लिएको र सो उद्धेश्य हासिल गर्ने लक्ष्य सबैको समान रहेको बताए । ‘हामी एक जुट भएर लाग्यौ भने आर्थिक समृद्धि हाशिल गर्न धेरै समय लाग्दैन्’ उनले भने । साथै उनले आगामी दिनमा चेम्वरको सफलताको कामना गरे ।

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाल चेम्वरले बिगत ७० वर्ष देखि मुलुकको आर्थिक क्षेत्रमा प्रदान गरेको योगदानलाइ कदर गर्दै संस्मरणान्मक हुलाक टिकट प्रकाशन गरेकामा संचार तथा सूचना प्रबिधि मन्त्रालयलाइ आभार प्रकट गरे । आफ्नो स्वागत मन्तव्यमा अध्यक्ष मल्लले नेपाल चेम्बर अफ कमर्सको स्थापना वि.स. २००७ सालमा भएको र सबै भन्दा पुरानो र अग्रणी वाणिज्य संगठनको रूपमा रहेको नेपाल चेम्वर अफ कमर्स नेपाली व्यावसायीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी घरेलु तथा विश्व बजारमा नेपाली व्यापार क्षेत्रको दिगो विकास गर्ने कार्यमा क्रियाशील रहेको बताए । नेपाल चेम्बर अफ कमर्स “चेम्बर अभियान” लाई विस्तार गर्न र व्यावसायिक क्षेत्रको सशक्तीकरणका लागि प्रतिबद्ध रहेको बताउदै निजी र सरकारी क्षेत्र बिच समन्वयकारी भूमिका निर्वाहमा चेम्वरको अहम भूमिका रहेको उनले उल्लेख गरे ।

सो अवसरमा बिशिष्ट अतिथि संचार तथा सूचना प्रबिधि सचिव डा.वैकुण्ठ अयोलले मुलुकको आर्थिक बिकासको लागि नेपाल चेम्वर अफ कमर्सले निर्वाह गरेको भूमिकालाइ कदर गर्दै चेम्वरको ७० औ वार्षिक उत्सवको अवसरमा हुलाक टिकट प्रकाशन गरिएको बताए । आज प्रकाशित हुलाक टिकटले नेपाल चेम्वर अफ कमर्सको पहिचान सहित चेम्वर अभियानलाइ बिश्वव्यापी बनाउन मद्धत पुग्ने बताउदै आगामी दिनमा चेम्वरले आफ्नो लक्ष्य हासिल गर्न सफलताको कामना गरे ।

उक्त अवसरमा हुलाक सेवा बिभागका महानिर्देशक श्री इन्दु घिमिरे, चेम्वरका पूर्व अध्यक्षद्धय महेश अग्रवाल तथा सुरेन्द्रवीर मालाकारको पनि कार्यक्रममा उपस्थिती रहेको थियो ।