नेपाल डेरी एसोसिएसन र मन्त्री हुमागाईं बीच अन्तरक्रिया
News Desk
Jan-02 , 2022 तारिख 11:20 बिहान

पौष - १७ , नेपाल डेरी एसोसिएसनले बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छि विकास मन्त्री बशुन्धारा हुमागाईंसँग अन्तरक्रिया गरेको छ । नवनियुक्त प्रदेश मन्त्री हुमागाईंको सम्मानमा आयोजित सम्मान एवं अन्तर्कृया कार्यक्रम माझ बधाई तथा कार्यकाल सफलताको शुभकामना सहित अन्तर्कृया गरिएको हो । सो अवसरमा पहिलो डेरी स्थापना भएको काभ्रे जिल्लामा केहि खास पहिचान हुने काम गरि जिल्लाको दुधको इतिहास बचाउन एसोसिएसनले मन्त्री हुमागाईंलाई अनुरोध गरेको छ । मन्त्री हुमागाईं आफू पनि लामो समयसम्म दुग्ध पेशामा रहेकोले उनको कार्यकालमा समग्र कृषि क्षेत्रको विकाससँगै विशेष गरि दुग्ध क्षेत्रको विकास अग्र स्थानमा रहँदै काँचुली फेर्ने कुरामा आशावादी रहेको एसोसिएसनको तर्फबाट धारणा राखिएको थियो । साथै उनको कार्यकालमा दुग्ध किसानको हितमा सदा ध्यान जानेछ भन्ने कुरामा नेपाल डेरी एसोसिएसन परिवारले पूरा अपेक्षा गरेको बताइएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री हुमागाईंले आफू ८ कक्षामा पढ्दै गर्दा दुग्ध क्षेत्रमा काम गर्न थालेको र अहिलेसम्म पनि निरन्तरता दिइरहेको जनाए । आफूले जुन काम गर्दा पनि सुक्ष्म अध्ययन गरि त्यसमा गहिरिएर काम गर्ने भएकोले मन्त्रालयमा गर्ने कम पनि राम्रै गर्ने पनि मन्त्री हुमागाईले बताए । ‘म जतिबेलासम्म पदमा रहन्छु त्यति बेलासम्म जनताको हितमा काम गर्छु , नितिगत अफ्ट्यारा सल्टाउँदै जान्छु र जनताले चाहेको र जनताको घरदैलोको समस्या बुझेर काम गर्छु, उनले भने । नेपाल डेरी एसोसिएसनले पनि आफूसँग भएको जानकारी र सुझाव समयमै मन्त्रालयमा बुझाउन आग्रह गरे । अब आगामी आउने बजेटमा वास्तविक जनताका समस्या र आवश्यकता समेटेर बजेट बनाउने, जनताको इच्छा अनुसारको कार्यक्रम ल्याउने र कृषकका समस्या हल गर्न लाग्ने कुरा मन्त्री हुमागाईंले बताए ।

एशोसियसनका अध्यक्ष राधाकृष्ण सापकोटाले सबैभन्दा बढी दुध उत्पादन हुने र सबैतिरलाई पायक पर्ने जिल्ला भएकोले काभ्रेमा धुलो दुध कारखाना स्थापना गर्दा समग्र प्रदेश भरिका जिल्लालाई सुविधा हुने कुरा बताउँदै यसको विषयमा गम्भीर हुन मन्त्रीलाई आग्रह गरे । प्रायः सबै जिल्लामा दुध बढि भइ कम बिक्री हुने समयमा किसानको दुध खेर जाने गरेको र सो रोक्न धुलो दुध खारखाना अति आवश्यक भएको कुरा पनि सापकोटाले राखे ।

बधाई दिंदै महासचिव दाहालले काभ्रे जिल्ला सबैभन्दा धेरै दुध उत्पादन हुने र दुधमा पहिलो आत्मनिर्भर भएको जिल्ला भएर पनि दुग्ध क्षेत्रमा भने जति विकास हुन नसकेको उल्लेख गर्दै किसान र उद्योगलाई त्यति सहज नभएको कुरा राखेका थिए । साथै उनले वि.स. २००९ सालमा पहिलो डेरी स्थापना भएको काभ्रेको नाला टुसालमा रहेको जमिन अहिले जंगलमा परिणत भएको हवाला दिदै सो स्थानमा डेरी टेक्निकल ईन्स्टिच्युट बनाउन पहल गर्न मन्त्री हुमागाईंलाई आग्रह समेत गरे ।

त्यसै एशोसियसनका केन्द्रिय उपाध्यक्ष एवं बागमती प्रदेश अध्यक्ष राजन दाहालले नेपाल डेरी एसोसिएसनको बारेमा अवधारणा राख्दै डेरी क्षेत्रमा तत्काल मुल्य नबढे किसानलाई मर्का पर्ने र पेशाबाटै पलायन हुने भएकोले तत्काल मुल्य बढाउन माग गरे । दाहालले बागमती प्रदेश सभामा काभ्रेपलान्चोक जिल्लाबाट निर्वाचित सदस्य समेत रहेका हुमागाई यस क्षेत्रमा लामो समय बिताएकाले दुग्ध क्षेत्रलाई हेर्ने नजर फराकिलो भएको धारणा राखे । उनले सबैभन्दा बढि दुध उत्पादन हुने जिल्ला, पहिलो डेरी स्थापना भएको जिल्ला र पहिलो दुधमा आत्मनिर्भर भएको जिल्लाले मन्त्री पाएकोमा पनि खुशी ब्यक्त गरे । बागमती प्रदेश सबैभन्दा बढि दुध उत्पादन एवं खपत हुने प्रदेश भएको र अब जिल्ला मात्र नभएर पुरै प्रदेशलाई चाडैं दुधमा आत्मनिर्भर बनाउने तर्फ कार्यक्रम ल्याउन दाहालले मन्त्री हुमागाईलाई आग्रह गरे।

अन्त्यमा धन्यवाद दिने क्रममा नेपाल डेरी एसोसिएसनका निवर्तमान अध्यक्ष सुमित केडियाले मन्त्रीलाई बधाई दिँदै एसोसिएसनलाई माया गरि समय उपलब्ध गराएकामा धन्यवाद दिए । साथै उनले आगामी दिनमा बागमती प्रदेशको समग्र दुग्ध क्षेत्रको विकास हुने र एसोसिएसनसँग मिलेर आगामी दिनमा दुग्ध क्षेत्रको हितका कार्यक्रम आउने कुरामा एसोसिएसन परिवार विश्वस्त रहेको कुरा राखे ।

कार्यक्रममा एसोसिएसनले जनावरी १ राष्ट्रिय टोपी दिवस पनि परेकोले मन्त्रीलाई ढाका टोपी लगाई सम्मान पत्र प्रदान गरेको थियो । साथै कार्यक्रममा एसोसिएसनका सबै सदस्यहरुले पनि टोपी लगाएका थिए ।बधाई दिने क्रममा एसोसिएसन बागमती प्रदेश सचिव गोपाल तिमल्सिना, कोषाध्यक्ष नवराज तिमल्सिना, सदस्य श्याम घिमिरे, धुर्ब तिवारी केन्द्रिय सदस्य मनोज घिमिरे, रामभक्त दाहाल, टिका घिमिरे, बद्री ढकाल, केन्द्रिय उपाध्यक्ष एवं बागमती प्रदेश अध्यक्ष राजन दाहाल, सह-कोषाध्यक्ष दिप प्रसाद धमला, निवर्तमान अध्यक्ष सुमित केडिया, महासचिव प्रल्हाद दाहल र अध्यक्ष राधाकृष्ण सापकोटाको उपस्थिति रहेकोे थियो ।