समाजका अँध्याराको पटाक्षेप
News Desk
Aug-30 , 2020 तारिख 04:43 बेलुका

काठमाडौँ — भाद्र १४, २०७७। 

बलिउडका ठूला कलाकारका फिल्म नेटफ्लिक्समा भटाभट आउनु सामान्यजस्तै भएको छ । नेटफ्लिक्सले हिन्दी भाषी कन्टेन्टलाई दिएको प्राथमिकता, झन् कोरोनाले सिनेमा हल ठप्प बनाएपछि धेरै निर्माताले यो प्लेटफर्म रोज्न थालेका छन् । हल खुल्ने दिन कुर्नुभन्दा डिजिटल प्लेटफर्ममा रिलिज गर्नु बाध्यताजस्तै बनेको हो । महामारीमा बाहिर निस्कन नपाएका दर्शकले नयाँ फिल्मको स्वाद चाख्न पाएका छन् । त्यसैमध्येको एक हो– रात अकेली है ।

नेटफ्लिक्सले निरन्तर सहकार्य गरिरहेको थोरै बलिउड कलाकारमा पर्छन्, नवाजुद्दिन सिद्धिकी र राधिका आप्टे । क्राइम–थ्रीलर जनराको यस फिल्ममा यी दुई मुख्य भूमिकामा छन् । निर्देशक हुन् हनी त्रेहान । फिल्म उत्तर प्रदेशको एउटा सानो सहरमा भएको हाई–प्रोफाइल हत्याकाण्डमा केन्द्रित छ । कसैको रहस्यमयी हत्या हुनु, त्यसको अनुसन्धानका लागि प्रहरी अफिसर खटिनु, घटनामा अनेकको स्वार्थ जोडिनु, छिनछिनमा नयाँ ट्वीस्टहरू आउनु, थप शंकास्पद बन्दै जानु अनि क्लाइमेक्स आम दर्शकको सोचाइभन्दा फरक हुनु, यस जनराका फिल्मको साझा विशेषता हो । ‘रात अकेली है’ योभन्दा अलग छैन, बरु यसले समाजका ती यथार्थलाई पटकथामा बुनेर रोचकता थप्ने काम गरेको छ ।

एक वृद्ध धनी व्यक्ति (रघुवीर सिंह) को बिहेकै रातमा हत्या हुन्छ । उनको पत्नी र चालकको पनि पाँच वर्ष पहिले हत्या भएको हुन्छ । तर, हत्याराको पहिचान हुन सकेको छैन । रघुवीरको हत्याको अनुसन्धान गर्ने जिम्मेवारी पाउँछन्, इन्स्पेक्टर जटिल यादव (नवाजुद्दिन) । जटिल झोक्की, निडर छन् र व्यावसायिक पनि । घरमा आफन्त मात्र भएका बेला कसरी गोली हानेर हत्या सम्भव भयो ? जटिलका लागि यो केस निकै जटिल बनिदिन्छ । तैपनि मिहिन ढंगले अनुसन्धान सुरु गर्छन् तर एकपछि अर्को दबाब आउन थाल्छ । रघुवीरको नवदुलही राधा (राधिका आप्टे), उनका भजिताहरूदेखि परिवारका हरेक सदस्य हत्यामा संलग्न भएको शंका पैदा हुन्छ । आफ्नै अफिसबाट साथ नपाइरहेका बेला जटिलले यो हत्या प्रकरणको वास्तविकता पहिल्याउन सक्छन् ? पाँच वर्षअगाडिको हत्याकाण्डसँग यो घटनाको सम्बन्ध छ ? हत्या नै गर्नुपर्ने गरी रघुवीर कसको र किन आँखाको कसिंगर बनेका थिए ? यी सवालहरूको जवाफ खोजिएको छ ।

सरसर्ती हेर्दा कथामा नयाँपन छैन, तर पात्र, पात्रबीचको द्वन्द्व र त्यसबाट निम्तिने घटनाक्रमले फिल्मलाई कसिलो बनाएको छ । पात्र धेरै छन् र हरेकको विशिष्ट भूमिका छ, निर्देशक त्रेहान र लेखक स्मिता सिंहको पात्रमाथिको नियन्त्रण साँच्चै गज्जब छ । उमेर घर्किसक्दा पनि बिहे नभएकाले इन्स्पेक्टर जटिलले दैनिक आमाको किचकिच सुन्नुपर्छ, दौंतरीहरू बच्चाको बाबु बनिसकेका छन् तर उनी अझ बिहे गर्न तयार छैनन् । जसोतसो अफिसकै काममा तल्लीन हुन खोज्छन् । दक्ष अधिकृतको छवि बनेको छ र रघुवीरको हत्या अनुसन्धानमा लागेपछि उनको जीवनमा संकट थपिएको छ । खासगरी उक्त परिवारभित्रको माहोलले उनमा अनेक आशंका पैदा पर्छ । आफ्नो हजुरबुबा उमेरको पुरुषसँग बिहे गर्न अभिशप्त राधाको जीवन भोगाई चिच्याटलाग्दो छ तर उनीप्रति सहानुभूति पैदा हुन्न, घरका सदस्यले समेत छिछिः दुरदुर गर्छन् । परिआएको खण्डमा जे गर्न पनि पछि नहट्ने बानी छ उनको ।

कुलतमा फसेको रघुवीरका छोरा, शक्ति र सम्पत्तिको घमण्ड भएको रघुवीरका ज्वाइँ, बाबुको हत्याले पिरोलिएकी छोरी करुणा (श्वेता त्रिपाठी), काकाको सम्पत्ति हत्याउन अग्रसर भजितो विक्रम (निशान्त दहिया), परिवारको इज्जतको खुब चिन्ता लिने विक्रमकी आमा प्रमिला सिंह (पद्मावती राव), घरेलु कामदार चुन्नी, स्वतन्त्र विधायक मुन्ना राजा

(आदित्य श्रीवास्तव) अनि उनको चाकरीमा लिप्त एसएसपी लालजी शुक्ला (तिमांसु धुलिया) लगायत पात्रको बिस्कुन छ । तर हरेकलाई दर्शकले नियालिरहन्छन् । अर्को सुखद पक्षचाहिँ पहिलो दृश्यमै निर्देशकले पात्रको प्रवृत्ति झल्काएका छन्, त्यसैले सुरुवातबाटै पात्रलाई आत्मसात् गर्न सकिन्छ । मुन्ना राजाबाहेक फिल्म घरभित्रै पात्रमा सीमित छ तर पनि त्यहाँभित्रको रस्साकसी र इन्स्पेक्टर जटिलले पत्ता लगाउने नवीन तथ्यले फिल्म हेरिरहँदा झिँजो लाग्दैन ।

निर्देशक मूलतः कथावाचक हो । फिल्म बनाउनुका पछाडि निर्देशकको आफ्नो उद्देश्य हुन्छ । ‘रात अकेली है’ मा लुकेको त्रेहानको स्वार्थ भनेको प्रतिष्ठा कमाएको परिवार र व्यक्तिभित्रको ढोंग, घरेलु यौनहिंसा, धनको लालसा अनि राजनीति–अपराधको नेक्ससलाई उदाङ्गो पार्नु देखिन्छ । तर, यी पाटालाई उनले खुलमखुला भनेका छैनन्, बरु पात्रमार्फत अप्रत्यक्ष शैलीमा दर्शकलाई अनुभूत गराउँछन् । सम्पत्तिकै कारण तमाम घृणित व्यवहार भए पनि रघुवीरसँग नेतादेखि आफन्तसम्म नजिक छन्, उनको आनीबानीमाथि प्रश्न उठाउने ल्याकत राख्दैनन् । विधायक मुन्ना राजा त रघुवीरका भतिजासँग आफ्नो छोरी विवाह गरिदिनसमेत तयार छन् । परिवारभित्रको आपसी जालझेलमा खेलेर उनी आफ्नो स्वार्थसिद्ध गर्छन्, जबकि उनी त्यस क्षेत्रका लोकप्रिय र सम्मानित नेता हुन् ।

सुरुवाततिर उतिबिघ्न ख्याल नगरिने पात्र प्रमिलामार्फत इज्जत जोगाउने र सम्पत्ति हत्याउने लहडमा सामान्य व्यक्ति कसरी अपराध कर्ममा मोडिन्छ भन्ने झल्को पाइन्छ । अनि, सम्भ्रान्त वर्गको आपसी लडाइँमा दिनरात काम गरेर जीविका चलाउने चुन्नीको दुःखद अन्त्यले भावुक बनाइदिन्छ ।

इन्स्पेक्टर जटिल र पति गुमाएकी राधाबीचको सम्बन्धले पनि फिल्मको वजन बढाएको छ । यी दुईबीचको आकर्षण र घृणाको सम्बन्धलाई निर्देशकले चलाखीपूर्वक बुनेका छन्, केही नभनेझैं गरेर धेरै कुरा भनिएको छ । तर, जटिलसँग ठोक्किन आउने कतिपय पात्र र घटनाक्रमले फिल्मको बहाव बिथोल्न भूमिका खेलेको छ । उनीभन्दा कनिष्ट अधिकृत र एसएसपी शुक्लासँगको नोकझोंकलाई अनावश्यक स्थान दिइएको छ । कतिपय ठाउँमा उस्तै प्रकृतिका दृश्य दोहोरिन्छन् । त्यसो त प्रहरी प्रशासनभित्र कर्तव्यनिष्ट प्रहरीलाई टिक्न कति मुस्किल छ भन्ने तीतो यथार्थ प्रस्ट्याउने निर्देशकको अभीष्ट हुन सक्छ । त्यस्तै, राधाको तनावग्रस्त पृष्ठभूमि र घरेलु कामदार चुन्नीकी हजुरआमाको हविगत त्यतिकै मार्मिक छ । रघुवीर र प्रमिलाकी छोरीबीचको दृश्यले साँच्चै मुटु कमाउँछ ।

प्रहरी अधिकृतको भूमिकामा नवाजुद्दीनलाई यसअघि पनि नदेखिएको होइन् तर पनि उनले नयाँ गुण/ व्यवहार/ मनोविज्ञानमार्फत चरित्रमा ताजापनको आभास गराएका छन् । तुलनात्मक रूपमा राधिका आप्टेको भूमिका चुनौतीपूर्ण छ । बाबुबाट बेचिएकी उनी जीवन धान्न वा गरिबीको दलदलबाट बाहिर निस्कन आफ्नो शरीर बेच्न बाध्य छिन् । सबैले चिथोरेर हुनुपर्छ, मायाप्रेमप्रति उनको अनुराग हटिसकेको छ । बलिउडमा हिरोइनको स्थापित मान्यतालाई भत्काउने राधिकाको अभियानमा यो भूमिका अर्थपूर्ण छ ।

पितावियोग, पिताप्रतिको वितृष्णा र अन्य आफन्तको झेलमा पिल्सिरहेकी चरित्रमा श्वेता त्रिपाठी सशक्त लाग्छिन् । तिंमासु धुलिया, पद्मावती राव, निशान्त दहिया, आदित्य श्रीवास्तव लगायतका कलाकारको अभिनय प्रशंसनीय छ । उत्तर प्रदेशको रियल लोकसनले कथालाई विश्वसनीय बनाउन भूमिका खेलेको छ ।

केही कमजोरीका बाबजुद क्राइम थ्रिलर फिल्ममा हुनुपर्ने गुणलाई आत्मसात् गरेकाले निर्देशक त्रेहान तारिफका हकदार हुन् । अब के होला भन्ने कौतूहलताले अन्त्यसम्मै पछ्याइरहन्छ । हामीले बाँचिरहेको समाजभित्र लुकेका फोहोरी प्रवृत्तिबारे पनि जानकार गराउँछ ।

(कान्तिपुर दैनिक)