News Desk
काठमाडौँ — चैत्र ४, २०७८ ।
नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेटमा यूएईविरूद्धको खेल जित्न १ सय ६९ रनको लक्ष्य पाएको छ । दुबई अन्तर्राष्ट्रिय रंगशालामा शुक्रबार टस जितेर पहिला ब्याटिङ गरेको यूएई ४६.३ ओभरमा १ सय ६८ रनमै अलआउट भयो ।
तीव्र बलरद्वय सोमपाल कामी र करण केसीले सुरुआत देखि बनाएको दबाबमा नेपालले यूएईलाई सानो स्कोरमा रोक्न सफल भएको हो । चौथो ओभरमा सोमपालले बाउन्सर बलमा चिराग सुरीलाई आउट गरी नेपाललाई सफलता दिलाउन सुरु गरेका थिए ।
सोमपालले आफ्नो अर्को ओभरमा वृत्य अरभिन्दलाई विकेटकिपर आसिफ शेखबाट आउट गरी नेपाललाई ठुलो सफलता दिलाए । सुरीले ६ र अरभिन्दले ३ रनमात्र बनाउन सके । १० औं ओभरमा सोमपालले ओपनर मोहम्मद वासिमलाई २१ र ११ औं ओभरमा करणले आसिफ खानलाई २ रनमा आउट गरेपछि यूएई ३५–४ को स्थितिमा पुगेको थियो ।
पूर्व कप्तान रोहन मुस्ताफा र सी रिजवानले धैर्यपूर्वक खेल्दै २३ ओभरमा ७७ रनको साझेदारी गरे । रिजवानलाई कप्तान सन्दीप लामिछानेले आफिसबाट स्टम्प आउट गराए । रिजवान र मुस्ताफा दुवैले समान ४० रन बनाए । रिजवानले ८५ बल खेले र कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् । ८१ बल खेली २ चौका र १ छक्का प्रहार गरेका मुस्तफालाई दीपेन्द्रसिंह ऐरीले बोल्ड गरे ।
बसिर हमिदलाई १४ रनमा ज्ञानेन्द्र मल्लबाट क्याच गराई सागर ढकालले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पहिलो विकेट लिए । खासिफ दौडलाई १८ रनमा आउट गरी सोमपालले चौथो विकेट लिए । करणले यूएईका कप्तान अहमद राजालाई १७ रनमा आउट गरी नेपाललाई नवौं सफलता दिलाए । त्यहि ओभरमा करणले जाहुर खानलाई शून्यमा आउट गरे ।
सोमपालले ९ ओभरमा ३९ र करणले ७.३ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३० र दीपेन्द्रले १० ओभरमा ४२ रन खर्चे ।
नेपाल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो पटक खेलिरहेको छ । यूएई र नेपाल दुबैले आफ्नो पहिलो खेलमा पपुवा न्यु गिनीलाई पराजित गरेको थियो । शारजहाँमा पपुवा न्यु गिनीविरूद्ध यूएईले ७ विकेटले र नेपालले २ विकेटको विजय हात पारेको थियो ।
नेपालले विकेटकिपर ब्याटर विनोद भण्डारीको स्थानमा कमलसिंह ऐरी खेलेका छन् । तीव्र बलर कमलको यो दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो । विनोदको स्थानमा आसिफ शेखले नेपालको विकेटकिपिङ गरेका थिए ।
सन् २०२३ को विश्वकप छनोटको आधार रहेको लिग २ को अंकतालिकामा यूएई दोस्रो र नेपाल छैटौं स्थानमा छन् । सात राष्ट्रसम्मिलित लिग २ मा यूएईको १५ खेलको तुलनामा नेपालले ९ खेलमात्र खेलेको छ ।