News Desk
काठमाडौँ — वैशाख २७, २०७९।
माल्दिभ्सको मालेमा सोमबारदेखि सुरु भएको दक्षिण एसियाली जुयिनर एन्ड क्याडेट टेबलटेनिस प्रतियोगिताको गर्ल्स क्याटेड टिम स्पर्धामा नेपाल सेमिफाइनल पुगेको छ । नेपालले उक्त स्पर्धामा बंगलादेशलाई ३–० ले हराएको हो । नेपालका लागि इभान्स थापामगर र बियन्का राईले व्यक्तिगतसँगै डबल्समा लगातार खेल जितेका थिए ।
मालेमा रहेका अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यका अनुसार नेपालले उक्त स्पर्धामा कम्तीमा कांस्य पदक जित्ने निश्चित भएको छ । सोसियल सेन्टर इन्डोर हलमा भइरहेको प्रतियोगिताकै ब्वाइज जुनियर टिम स्पर्धामा नेपालले राम्रो नतिजा निकाल्न सकेन । नेपाल उक्त स्पर्धामा पाकिस्तानसँग ३–२ र बंगलादेशसँग पनि समान ३–२ ले पराजित रह्यो ।
तीन दिन चल्ने प्रतियोगितामा नेपाल र आयोजक माल्दिभ्ससहित दक्षिण एसियाका ६ देशको सहभागिता छ ।