काठमाडौंमा आज एमालेको चुनावी सभा
News Desk
May-10 , 2022 तारिख 08:10 बिहान

काठमाडौँ — वैशाख २७, २०७९।

प्रमुख प्रतिपक्षी दल एमालेले आज काठमाडौंमा चुनावी सभा गर्दै छ । सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने चुनावी सभामा ११ वटै पालिकाका जनप्रतिनिधि र कार्यकर्ता सहभागी हुने कार्यतालिका रहेको छ । 

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर विभिन्न पार्टीले देशभर चुनावी सभा गरिरहेका छन् । राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले आसन्न स्थानीय तहको निर्वाचनकेन्द्रित  चुनावी सभा आज  मात्रै हुनेछ । 

निर्वाचन आयोगले मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरेको छ । मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा–सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको तीन सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने हुन्छ ।

यसबाहेक कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन । मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन पाइँदैन ।

धेरै पढिएको