मन्त्रिपरिषद् पुनर्गठन गरेर अघि बढनु पर्नेमा नेकपा एसको जोड
News Desk
Jun-20 , 2022 तारिख 09:12 बिहान

काठमाडौं । बालुवाटारमा आइतबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा एसले तत्काल मन्त्रिपरिषद् पुनर्गठन गरेर अघि बढनु पर्नेमा जोड गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका सो पार्टीका चार मन्त्रीलाई फिर्ता गरेर थप चार नयाँ अनुहारलाई स्थान दिनुपर्ने निर्णयलाई प्रधानमन्त्री देउवाले कार्यान्वय नगरेपछि नेकपा एसले पाँच दलीय गठबन्धनको बैठकमा सो विषयलाई पुनः उठान गरेको सो पार्टीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।
‘मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारेमा हामीले आज कुरा राख्यौं, त्यसबारेमा यसअघि नै हामीले निर्णय पनि गरिसकेका पनि छौँ, यसलाई तुरुन्तै कार्यान्वयन गर्नुस्, अब हामी पर्खिने अवस्थामा छैनौँ भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौँ,’ बैठकपछि खनालले भने, ‘ उहाँले तपाईंहरूको निर्णयबारे पत्र आइसकेको छ, कार्यान्वयन गर्छु भन्नुभएको छ, हेरम् ।’
यसैगरी बैठकमा अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)बारेमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्ने प्रस्ताव पेस भएको छ । पाँच दलीय गठबन्धनको आइतबारको बैठकमा एसपीपीका बारेमा छलफल गर्नका लागि सर्वदलीय छलफलको प्रस्ताव पेस भएको हो । ‘हाम्रो पार्टी एसपीपीको पक्षमा छैनौँ भनेर प्रस्ट भनेका छौँ,’ बैठकपछि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले भने, ‘बरु, त्यसमा छलफल गर्नका लागि सर्वदलीय छलफल गरौं भन्ने प्रस्ताव आएको छ ।’ उनका अनुसार सोबारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यक पर्दा निर्णय लिने बताएका छन् ।
गठबन्धन आगामी चुनावसम्म
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन आगामी चुनावसम्म कायम रहने बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपालले आइतबार यहाँ आयोजना गरेको विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा वरिष्ठ पत्रकारसँगको अन्तक्र्रियामा अध्यक्ष नेपालले प्रतिगमनका विरुद्ध गठन भएको गठबन्धनले मुलुकमा लोकतन्त्र, संविधान र जनताको हितमा कार्य गर्न प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनसम्म तालमेल गर्ने बताए । प्रधानमन्त्री शेरबहादुर देउवा, आफू र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबारै छलफल भएको जानकारी दिए । उनले गठबन्धनलाई कसरी जोगाएर अगाडि बढ्ने, ६ महिनाभित्र चुनाव सम्पन्न गर्ने, सिट बाँडफाँडलगायत समसामयिक विषयमा छलफल भएको बताए ।
विद्यमान निर्वाचन प्रणालीमा एउटै पार्टीले बहुमत ल्याउन कठिन रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा भएका कमीकमजोरीको समीक्षा गर्दै उनले छिट्टै सिट सङ्ख्या बाँडफाँड गरी आगामी निर्वाचनमा सहकार्य गरी अगाडि बढ्ने नेताहरुबीच समझदारी भएको प्रष्ट पारे । विगतमा सबै वडा पालिकामा पार्टीको सङ्गठन विस्तार नभएको, स्थानीय तहको निर्वाचनमा पार्टीले सबै ठाउँमा उम्मेदवारी नदिएको अवस्थामा पनि आएको परिणाम सन्तोषजनक रहेको अध्यक्ष नेपालको भनाइ थियो । देशका ७५३ पालिकामा तीव्र गतिमा राजनीतिक गतिविधिका साथै सङ्गठन विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।
अध्यक्ष नेपालले केही समय अगाडि आशङ्कामा रहेको एमसिसी व्याख्यात्मक टिप्पणीपछि केही सहज भएको भए पनि अहिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) का विषयमा विवाद भएको र नयाँ तरङ्ग आएकाले राष्ट्रियतालाई कमजोर बनाउने गरी कुनै पनि कार्य गर्न नहुने बताए । सरकारले एसपिपीलाई खारेज गर्नुपर्ने सल्लाह दिँदै उनले भने, ‘सन् २०१५ अक्टोबर २७ मा एसपिपीका लागि नेपाली सेनाले अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि यसमा थप अन्योल देखापरेको छ, छिमेकी राष्ट्रलाई अप्ठ्यारो पार्न कुनै पनि सम्झौता गर्न सकिँदैन ।’ प्रधानमन्त्रीसँग सोही सन्दर्भमा छलफल गर्दा उहाँ यस विषयमा चिन्तित भएको आफूले पाएको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, ‘सेनाले अर्को देशलाई पत्राचार गरेको कुरा कूटनीतिक मर्यादा विपरित हो, कुन सरकारको पालामा र को प्रधानमन्त्री हुँदा भन्ने कुरा पनि उठ्यो । तत्कालीन प्रधानमन्त्री अनविज्ञ रहेको एसपिपी विषय राष्ट्रको पक्षमा छैन ।’
अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थ उत्पादनको प्रभावले अहिले देशमा भइरहेको मूल्य वृद्धिबाट जनता महँगीको मारमा परेको अध्यक्ष नेपालको भनाइ छ । राज्यले जनताको पिर मर्का बुझेर पेट्रोलियम पदार्थको मूल्य बढाउन नहुने उनको सुझाव थियो । समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले आफ्नो संस्था व्यावसायिक पत्रकारको हकहित र अधिकार संरक्षणका लागि क्रियाशील रहेको उल्लेख गर्दै मुलुकमा भइरहेका समसामयिक विषयवस्तुबारे प्रष्ट पार्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

धेरै पढिएको