बैंक तथा वित्तीय संस्थाको औद्योगिक क्षेत्रमा एक खर्ब ४४ अर्ब ऋण प्रवाह
News Desk
Jun-24 तारिख 10:56 बिहान

काठमाडौं ─ १० असार २०७९

काठमाडौं, गत पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ०.५ प्रतिशतले घटेर रु एक खर्ब ४४ अर्ब बराबर भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रदेश नं १ को अर्ध वार्षिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कूल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश २६.५ प्रतिशत छ । बाह्य पर्यटक आगमनको सङ्ख्या १२२ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा बाह्य पर्यटक आगमनको सङ्ख्या ७६.७ प्रतिशतले घटेको थियो । कोरोना महामारीको प्रभाव कम भएसँगै विदेशी पर्यटकलाई आकर्षित गर्नका लागि अनअराइभल भिसामा दिएको छुट तथा अन्य सुविधाका कारण पर्यटकको आगमनमा वृद्धि भएको छ ।

त्यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाका थप १०३ वटा शाखा विस्तार भएका छन् । गत पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको निक्षेप १.४ प्रतिशतले वृद्धि भई रु तीन खर्ब ५१ अर्ब पुगेको छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा १३.४ प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ४५ अर्ब पुगेको छ । कर्जा निक्षेप–अनुपात १५५.२ प्रतिशत छ । गत पुस मसान्तसम्ममा पुनरकर्जाको बक्यौता रु चार अर्ब ८१ करोडले वृद्धि भई रु १५ अर्ब १८ करोड पुगेको छ । सेवा क्षेत्रमा प्रवाहित कर्जाको अंश सबैभन्दा बढी ६४ प्रतिशत छ । पूर्वाधारतर्फ यस प्रदेशमा राष्ट्रिय तथा सहायक राजमार्ग गरी थप ४५६.५ किलोमिटर सडक विस्तार भई कूल सडक सञ्जाल छ हजार २१२.२ किलोमिटर पुगेको छ ।