चेम्बर आन्दोलनका शिखर व्यक्तित्व राजेशकाजी श्रेष्ठसहित कर्पोरेट जगतका दिग्गज व्यक्तित्वहरु कर्पोरेट विजनेश अवार्डबाट विभूषित
News Desk
Jul-20 , 2022 तारिख 10:31 बिहान


काठमाण्डौं । कर्पोरेट मिडियाको आयोजना तथा चेम्बर आन्दोलनका लौह पुरुष, प्रतिष्ठित उद्योगपति एवं नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष स्व. ईश्वरलाल श्रेष्ठको स्मृतिमा स्थापित संस्था ईश्वरलाल प्रतिष्ठानको सह आयोजनामा कर्पोरेट विजनेश अवार्ड सम्पन्न भएको छ । अवार्ड कार्यक्रम उपराष्ट्र«पति नन्द बहादुर पुनको प्रमुख आतिथ्यतामा मंगलबार होटल र्याडिसनमा सम्पन्न भएको हो । सो अवसरमा उपराष्ट्र«पति पुनले नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठलाई कर्पोरेट लाइफ टाइम एचिभमेण्ट अवार्ड, नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश  कुमार अग्रवाललाई कर्पोरेट लिडरशिप अवार्ड, बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य  महासंघका कार्यकारीणी  सदस्य  सुबोध कुमार गुप्तालाई इन्फ्लुन्सियल लिडरशिप अवार्ड, नेपाल चेम्बर अफ कमर्सकी कार्यसमिती सदस्य एवम्  नेपाल महिला चेम्बरकी सचिव लिमा अधिकारीलाई बेष्ट वुमन इन्टरप्रेनियरशिप अवार्ड र बिन्दवासिनी  लजिस्टिकका अध्यक्ष माधव प्रसाद बराललाई कर्पोरेट बिजनेश अवार्डबाट विभूषित गर्नुका साथै अन्य उद्योगपति, व्यवसायी, बैंकर्स, व्यवस्थापकहरुलाई विभिन्न टाईटलमा अवार्ड वितरण गर्नु भएको थियो ।  

तत्पश्चात अवार्ड समारोहलाई संबोधन गर्नुहुँदै उपराष्ट्र«पति पुनले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहदै आएको उल्लेख गर्नुहुँदै हाल मुलुकको अर्थतन्त्रमा समस्या आएको हुदाँ यस्तो अवस्थामा निजी क्षेत्रलाई अझ गम्भीर भएर देशको अर्थतन्त्रलाई उकास्नतर्फ लाग्न आग्रह गर्नुभयो । 

सो अवसरमा सभापतिको आसनबाट बोल्नु हुँदै कर्पोरेट मिडियाका अध्यक्ष एवं संस्थापक सम्पादक उज्जवलजंग शाहले मिडियाले विभिन्न आरोह अवरोह पार गर्दै हालको स्थितीसम्म आईपुगेको बताउनुहुँदै कर्पोरेट विजनेश अवार्डले तमाम उद्योगी, व्यवसायी, व्यवस्थापक आदीलाई थप उर्जाशील भई अघि बढ्ने उत्प्रेरणा मिल्ने विश्वास आफूले लिएको धारणा व्यक्त गर्नुभयो । 

अवार्ड वितरण समारोह माझ नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष  चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी  राणा र  सम्मानित व्यक्तित्व नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्र हाल समस्याग्रत स्थितीमा गुज्रिरहेको बताउनुहुँदै देशको अर्थतन्त्रलाई सबल पार्न आउने मौद्रिक नीतिमा निजी क्षेत्रले उठाउदै आएका जायज मागलाई संबोधन गर्नुको विकल्प नरहेको आशय व्यक्त गर्नु भएको थियो ।  

कार्यक्रम माझ निर्णायक मण्डलका संयोजक समेत रहनु भएका अग्रज उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले सम्मान  विजनेश अवार्डको निर्णायक मण्डलमा रहन  पाउँदा ज्यादै खुसी लागेको उल्लेख गर्नुहुँदै मंच उपभोक्ता हितका निम्ति सदैव निजी क्षेत्रसँग हातेमालो गरेर अघि  बढन लालायित हुने गरेको उल्लेख गर्नुभयो ।  

 कार्यक्रममा ईश्वरलाल प्रतिष्ठानका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्षद्व्य उर्मिला श्रेष्ठ एवम् दिपक मल्होत्रा, नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष सुरेन्द्रवीर मालाकार,  नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, कार्यकारिणी सदस्य हेमराज ढकाल, डिस होमका प्रबन्ध निर्देशक सुदिप आचार्य लगायतका लब्ध प्रतिष्ठित 
व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।