नेकपा स्थायी कमिटी बैठक भदौ २६ गते बोलाउने सहमति
News Desk
Sep-07 , 2020 तारिख 09:32 बिहान

काठमाडौँ — भाद्र २२, २०७७। 

नेकपाले स्थगित स्थायी कमिटीको बैठक भदौ २६ गते बोलाउने भएको छ । नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले साउन १३ गते स्थगित स्थायी कमिटीको बैठक भदौ २६ गते बोलाउने सहमति भएको जानकारी दिएका हुन् ।

सोमबार बिहान बालुवाटारमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलसहितको छलफलमा यो सहमति गरिएको पनि थापाले बताएका छन् ।

असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठक आन्तरिक विवादका कारण पटक-पटक स्थगित हुँदै आएको थियो ।

पछिल्लो पटक साउन १३ लाई तय भएको बैठक ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि अध्यक्ष पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले सञ्‍चालन गरेका थिए । दुवैतर्फको उक्त कदमले नेकपा विवाद विभाजनकै तहमा पुगेको थियो ।

तर, विवाद मिलाउन दोस्रो तहका नेताहरुको सक्रियताले साउन २९ मा अध्यक्षद्वय ओली र दाहाल कार्यदल बनाउन सहमत भए । साउन ३० मा विवाद समाधान सुझावका लागि महासचिव विष्णु पौडेल नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।

उक्त कार्यदलले भदौ ६ मा ओली–दाहाललाई सुझावसहितको प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनको प्रारम्भिक छलफल सचिवालयमा पनि भइसकेको छ । सोही प्रतिवेदन स्थायी कमिटीमा छलफल हुने भएको हो ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको