News Desk
वीरगञ्ज - पर्सामा हालै सरुवा भइ आएका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले पर्सा–बारा औद्योगिक कोरिडोरमा औद्योगिक सुरक्षा बलको स्थापनाका लागि पहल गर्ने बताएका छन् । आइतबार वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी उउपरिक्षक थपलियाले भारतको सीमा क्षेत्रमा डिजिटलाइज पुलिसिङ्गको व्यवस्था गर्ने पनि बताए ।
उनले विगतमा भए गरेका राम्रा कार्यहरुलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता पनि जनाए । उनले औद्योगिक सुरक्षा र अवैध व्यापार नियन्त्रणका लागि सशस्त्र प्रहरी क्रियाशील रहने र सीमा सुरक्षामा हुने अपराध तथा राजस्व छली लगायतका अपराधको चुनौतीलाई अवसरको रुपमा लिई अघि बढ्ने बताए । सशस्त्र प्रहरी उपरीक्षक थपलियाले पर्साका सीमा सुरक्षा तथा औद्योगिक सुरक्षा बिषयमा आफु गम्भीर रहेको भन्दै वीरगन्ज आर्थिक नगर भएकोले यसको महत्व र उपादेयतालाई मध्यनजर गर्दै त्यही अनुरुपको सुरक्षा व्यवस्था मिलाउने बताए ।
कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुबोध कुमार गुप्ताले वीरगन्ज लगायत क्षेत्रमा कायम रहेको शान्ति सु–व्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्ने, आन्दोलनमा फुटाइएका सिसिटिभी परियोजनाको व्यवस्थापन र विस्तारमा आफुहरुको निरन्तर सहयोग रहने बताए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल ,उपाध्यक्ष हरिप्रसाद गौतम, माधवराज पाल, कार्यसमिति सदस्य आशिष लाठ, शिवजी प्रसाद कलवार, निरज अग्रवालले आ–आफ्ना धारणा राखेका थिए ।