News Desk
काठमाडौँ — भाद्र २२, २०७७।
हरेक वर्ष भदौ २२ गते निजामती दिवसको अवसर पारेर सर्वोत्कृष्ट, उत्कृष्ट र निजामती कर्मचारी पुरस्कार घोषणा गर्ने गरेको थियो। तर सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेट्टाएन। विगत ४ वर्षदेखि सरकारले सर्वोत्कृष्ट कर्मचारी पुरस्कार घोषणा गर्न छाडेको छ।
सर्वोत्कृष्ट पुरस्कार दुई लाख, उत्कृष्ट पुरस्कार १ लाख र निजामती पुरस्कार ५० हजार रुपैयाँबराबरको हुने व्यवस्था छ। सोमबार सरकारले निजामती दिवसको अवसर पारेर १० जना कर्मचारीलाई उत्कृष्ट तथा ३० जनालाई निजामती पुरस्कार घोषणा गर्न लागेको छ।
संघीय मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले यस वर्ष सर्वोत्कृष्ट पुरस्कार घोषणा नगर्ने जनाए। सर्वोत्कृष्ट पुरस्कार दिने आधार तयार नभएकाले घोषणा नगरिएको उनको भनाइ छ। सरकारले गत वर्ष पनि यस्तै कारण देखाएको थियो। सोमबार बिहान उत्कृष्ट पुरस्कार तथा निजामती पुरस्कार पाउने कर्मचारीको नाम औपचारिक घोषणा गरिने प्रवक्ता अधिकारीले जनाए।
सरकारले निबन्ध प्रतियोगिता तथा कविता प्रतियोगिताका पहिलो, दोस्रो र तेस्रो पुरस्कारको पनि घोषणा गर्ने भएको छ। पहिलो पुरस्कार २५ हजार, दोस्रो पुरस्कार १५ हजार र तेस्रो पुरस्कार १० हजार रुपैयाँबराबरको हुने मन्त्रालयले जनाएको नागरिक दैनिकमा खवर छ ।