News Desk
वीरगञ्ज -आपूर्तिमन्त्री रमेश रिजाललाई वीरगञ्ज चिनी कारखाना पुन: सञ्चालन गरिदिन सरोकारवालाहरुले आग्रह गरेका छन् ।
मन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला पर्सा आएका उद्योगमन्त्री रिजाललाई सम्मानित गर्न मङ्गलबार नेपाली कांग्रेस पर्साले आयोजना गरेको कार्यक्रममा बोल्दै सरोकारवालाहरुले लामो समयदेखि बन्द रहेको वीरगञ्जको चिनी कारखाना लगायत यस क्षेत्रका उद्योगहरु पुन: सञ्चालन गर्न आग्रह गरेका हुन् ।
पर्सादेखि रौतहटसम्म तीन जिल्लाका किसानको समृद्धिसँग प्रत्यक्ष रुपमा जोडिएको चिनी कारखाना बन्द भएलगत्तै यहाँका कृषकहरुको दु:खका दिन सुरु भएकाले मन्त्री रिजालकै कार्यकालमा चीनी कारखाना पुन: सञ्चालन भए बेरोजगारीलगायत कयौं समयसाको समाधान हुनुका साथै सुखका दिन फेरि फर्किने उनीहरुको तर्क थियो ।
पर्सा निर्वाचन क्षेत्र नम्बर २ का सांसद् अजय चौरसियालले मन्त्री रिजाललाई आफ्नै गृहजिल्लामा रहेको चिनी कारखाना वर्षौंदेखि बन्द रहेकोले त्यसलाई पुन: सञ्चालन गर्न पहलकदमी लिन आग्रह गर्दै भने, ‘म विश्वस्त छु माननीय मन्त्रीज्यूले आफ्नो गृहजिल्लाको चिनी कारखाना फेरीदेखि सुरु गर्न पहलकदमी लिनुहुन्छ ।’ चौरसियाले वीरगञ्ज कारखाना चलाउन सम्भव नभए अन्य जिल्लामा सारेर भएपनि कारखाना सुरु गर्नुपर्नेमा जोड दिए ।
कांग्रेस पर्साका सभापति एवम् प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्रीले मन्त्री रिजालसँग जिल्लावासीले धेरै अपेक्षा गरेकोले सोहीअनुसार काम गर्न आग्रह गर्दै भने, ‘तपाई मन्त्री भएपछि जिल्लावासीले धेरै आश र अपेक्षा गरेका छन्, यदि चिनी मिल चलाईदिनुभयो भने जिल्लावासीका लागि ठूलो गुण लाग्नेछ ।’
सिंहले २० वर्षदेखि बन्द रहेको चिनी कारखाना पुन: सञ्चालन गर्न चुनौतीहरु रहेपनि सरकारको इच्छाशक्ति भए कारखाना चलाउनु कुनै ठूलो कुरा नभएको बताए । सिंहले भने, ‘मन्त्रीज्यूका लागि पर्सावासीमा गुण लगाउने यो सुनौलो अवसर छ, यहाँकै कार्यकालमा नयाँ प्रविधी र उपकरण भित्रयाएर चिनी मिल सञ्चालनमा आउँछ भन्नेमा हामीले आशा गरेका छौं ।’
नेपाली कांग्रेसका प्रदेशसभा सदस्य शङ्कर चौधरीले अघिल्ला वक्ताहरुकै कुरा दोहोर्याउँदै भने, ‘जिल्लाले करिब दुई दशकपछि मन्त्री पाएको छ, त्योपनि उद्यागमन्त्री, त्यसका कारण मन्त्रीज्यूको पहिलो ध्यान चिनी कारखाना सञ्चालन तर्फ जानुपर्छ, यदि चिनी कारखाना फेरि चल्यो भने यहाँका किसानहरुमा फेरि खुशीका दिन फर्केर आउनेछ, त्यसपछि यो जिल्लामा बेरोजगारीको समस्या पनि समाधान हुन्छ ।’
प्रदेशसभासदस्य श्याम पटेलले पनि उद्योगमन्त्री र सरकारको इच्छाशक्ति भए चिनी कारखाना सञ्चालन गर्न कुनै चुनौतीले नछेक्ने तर्क गरे । उनले उद्योगमन्त्री रिजाललाई कारखाना सञ्चालनलाई आफ्नो पहिलो अजेण्डा बनाएर काम गर्न आग्रह गरे ।
त्यस्तै कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले पर्सा जिल्लाको दुई तिहाई बढि जनसंख्या कृषिमा निर्भर रहेकाले चिनी कारखाना पुन: सञ्चालनमा ल्याउन उद्योगमन्त्री रिजालको ध्यानाकर्षण गराए । कुर्मीले भने, ‘यदि मन्त्रीज्यूले चिनी कारखाना चलाइदिनु भयो भने जिल्लाभरका किसानको घरघरमा फेरि खुशी फर्किनेछ ।’
जिल्लावासीको आग्रह सुनेपछि उद्योगमन्त्री रिजालले आफनै कार्यकालमा चिनी कारखाना सञ्चालनका लागि भरमग्दुर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । पर्सा जिल्लावासीकै आशीर्वाद र साथले आफू चारदशकको राजनीतिक यत्रामा पहिलोपटक मन्त्री बनेकाले जिल्लावासीकै आदेशमा आफू चल्ने उनले बताए ।
मन्त्री रिजालले भने, ‘चिनी मिल चलाउन म तयार छु , यसलाई चलाउनका लागि के के गर्नु पर्छ ? त्यसबारे मन्त्रालयमा विज्ञहरुलाई बोलाएर छलफल गरेर मन्त्रालयले काम अगाडि बढाउँछु ।’
कृषि औजार कारखाना सञ्चालनमा ल्याउनका लागि काम गरिरहेको राष्ट्रिय आविष्कार केन्द्रले अहिलेसम्म सरकारबाट बजेट नपाएको गुनासो सम्बोधनका लागि आफूले पहल थालिसकेको पनि मन्त्री रिजालले जानकारी गराए । उनले भने, ‘केन्द्रका अध्यक्ष महावीर पुनजीलाई मैले मन्त्रालयमै बोलाएर उहाँको गुनासो सुने, लगत्तै आवश्यक बजेट निकासका लागि मैले प्रकृया अगाडि बढाइसकेको छु ।’
वीरगञ्जमा रुस सरकारको आर्थिक सहयोगमा स्थापना भइ विक्रम सम्वत् २०२१ सालदेखि सञ्चालनमा आएको वीरगञ्ज चिनी कारखाना घाटामा गएको भन्दै सरकारले २०५९ सालमा बन्द गरेको थियो ।
कार्यक्रममा मन्त्री रिजाललाई २ सय ५१ केजीको माला लगाएर स्वागत तथा सम्मानित गरिएको थियो । कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेश सरकारका पूर्वमन्त्री ओमप्रकाश शर्मा, संविधानसभासदस्य अनिल रुङ्गटा, जिल्ला सचिवद्वय दिनेश चौधरी र इम्तियाज आलम, कोषाध्यक्ष प्रेमबहादुर थापा, सहसचिव नवीन सिंह, क्षेत्रीय सभापतिहरु महम्मद शाहबुद्धिन, श्रीकृष्ण चौहानन, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, जीराभवानी गाँउपालिकाका अध्यक्ष अनोज चौधरी, पूर्वउपसभापतिहरु दिना गुप्ता र प्रकाश उपाध्याय, नेता राकेश सिंह, महानगरसभापति मणिन्द्रलाल श्रेष्ठ, कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेलगायतको पनि आफ्नो मन्तव्य राखेका थिए ।