News Desk
काठमाडौँ — भाद्र २३, २०७७।
बुधबार रातिसम्म लम्ब्याइएको उपत्यकामा जारी निषेधाज्ञाबारे नयाँ निर्णय लिनका लागि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहितको भर्चुअल बैठक आज बस्दैछ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आज बिस्तृत बैठक बसेर छलफल गरिने र त्यसको रायसुझाव अनुसार गृह मन्त्रालयसँग समन्वय गरेर निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा निर्णय लिइने बताए ।
दाहालका अनुसार उपत्यका मेयर फोरम, उद्योगी व्यवसायी, यातायतका प्रतिनिधि र सरकारी चिकित्सकलगायतसँग पनि आजै छलफल गरिँदैछ । यो छलफलपछि तीनै जिल्लाका सीडीओसहित जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को संयुक्त बैठक बस्नेछ । यसबाट आउने रायअनुसार गृहको समन्वयमा निर्णय लिइनेछ ।
ललितपुरका सीडीओ नारायणप्रसाद भट्टले यसअघि संसदीय समितिमा दसैंसम्म निषेधाज्ञा लगाउनुपर्ने बताएका थिए ।
(कान्तिपुर दैनिक)