चितवन राष्ट्रिय निकुञ्जमा भेटियो गोली लागेको मृत गैंडा
News Desk
Sep-08 , 2020 तारिख 09:02 बेलुका

चितवन राष्ट्रिय निकुञ्जमा गोली लागेको एक सिंगे गैंडा मृत भेटिएको छ। निकुञ्जको रातोपानी घोल भन्ने स्थानमा डुबेको अवस्थामा मृत गैंडा भेटिएको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । टाउकोमा दुईवटा गोली लागेको अवस्थामा गैंडा भेटिएको बरालले बताए। भदौ २१ गते नै मृत गैंडा भेटिए पनि मंगलबार मात्रै निकुञ्जले सार्वजनिक गरेको हो । मृत गैंडाको खाग र खुर भने सुरक्षित छ।

प्रमुख संरक्षण अधिकृत बरालले सिकारीले गोली हनेर भागेको हुनसक्ने बताए। ‘केही दिनअघि गोली पड्किएको आवाज सुनेपछि निकुञ्जका सुरक्षाकर्मीहरूले खोजी कार्य तीव्र बनाएको थियो’, बरालले भने, ‘तर गैंडा, गोलीको खोका केही पनि भेटिएको थिएन।’

उनले नारायणी नदीको टापु लौखानी पारी भनिने स्थान नजिकै पर्ने रातोपानी घोलमा गैंडा फेला परेको बताए। चितवन राष्ट्रिय निकुञ्जमा यस वर्ष चार वटा गैंडा मरेका छन्। यसअघि कालगती र दुर्घटनामा परेर तीन वटा गैंडा मरेको बरालले बताए।  यसपटक भने शंकास्पद रहेको भन्दै उनले अनुसन्धान भइरहेको बताए।