News Desk
नेपाल सरकारले सेवा लम्साललाई परराष्ट्र सचिव नियुक्त गरेको छ। परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल क्यानडाका राजदूत सिफारिस भएसँगै लम्सालले निमित्त परराष्ट्र सचिवको जिम्मेवारी सम्हालेकी थिइन्।
बिहीवारको मन्त्रिपरिषद् बैठकले लम्साललाई परराष्ट्र मन्त्रालयमा पदस्थापन गर्ने गरी सचिवमा बढुवाको निर्णय गरेको हो।
योसँगै लम्साल नेपालको परराष्ट्र मन्त्रालयमा पहिलो महिला सचिव बनेकी छिन्। लम्सालसँगै नेपाल सरकारका सचिवमा ९ जना महिला सचिव पुगेका छन्।
लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षताको बढुवा सिफारिस समितिले लम्साललाई पराष्ट्र सेवाको सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीमा नियुक्त गर्न सिफारिस गरेको थियो।
२०५५ सालमा शाखा अधिकृतबाट सरकारी सेवा थालेकी लम्साल उपसचिवबाट परराष्ट्र समूहमा प्रवेश गरेकी थिइन्।