News Desk
निजी क्षेत्रको व्यवस्थापनमा चोभार सुक्खा बन्दरगाह सञ्चालन गर्न थालिएको छ।
बन्दरगाह शुक्रवारदेखि निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन भएको हो। केही दिनअघि चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टिआरएस लोजिपार्क प्रालिबीच सम्झौता भएको थियो।
सम्झौतामा समिति र प्रालिबीच ५ वर्षका लागि २ करोड ८८ लाख रकम न्यूनतम सट्टापट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गर्नेगरी हस्ताक्षर भएको थियो। सोही सम्झौताअनुरुप शुक्रवारदेखि बन्दरगाह सञ्चालनको जिम्मेवारी ट्रान्स नेपाल टिआरएस लोजिपार्कले लिएको छ।
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहमा रहेका ७ वटै पोर्टहरु निजी क्षेत्रमार्फत सञ्चालन भइरहेका बताए।
अघिल्लो वर्ष पोर्ट सञ्चालनबाट १३५ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्न सकेको जानकारी उनले दिए। उनले समितिकै स्वीकृत दररेटमा बसेर निजी क्षेत्रले सेवा, सुविधा दिने बताए।
उनले सुक्खा बन्दरगाहमा निजी क्षेत्रको विज्ञताको प्रयोगले सेवाको स्तर बढ्ने र राज्यको आम्दानी पनि बढ्ने बताए। उनले सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुरुप बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन गर्न दिँदा सेवा र आम्दानीको हिसाबले राम्रो परिणाम देखाएको बताए।
‘आज मंसिर २९ गते २०८० साल। विधिवत रुपमा रुपमा चोभारको सुक्खा बन्दरगाह निजी क्षेत्रमार्फत सञ्चालन र व्यवस्थापन हुँदैछ। अब हामी कन्ट्र्याक्ट म्यानेजमेन्टको पार्ट हेर्छौं। सुपरभिजन, कन्ट्रोलिङ नेपाल इन्टर मोडल यातायात विकास समितिबाट हुन्छ। सञ्चालन र व्यवस्थापन निजी क्षेत्रमार्फत हुन्छ‚’ उनले भने‚ ‘निजी क्षेत्रमार्फत हामीले हातेमालो गर्दै सञ्चालन र व्यवस्थापन गर्ने गरेको छौँ। नेपाल इन्टरमोडल यातायात विकास समिति अन्तर्गत ७ ओटा पोर्ट सञ्चालन भइरहेको छ। सबै पोर्ट निजी क्षेत्रमार्फत सञ्चालन भइराखेको छ। अघिल्लो वर्ष पनि पोर्ट सञ्चालनबाट १३५ करोड रुपैयाँभन्दा सेवा दिएर आम्दानी गरेका छौँ। सार्वजनिक, निजी साझेदारीको अवधारणा हामी पोर्टहरुमा अप्लाइ गरिरहेका छौँ।’
उनले सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन गर्ने उद्देश्य रहे पनि काठमाडौँ–तराई/मधेश द्रुतमार्ग नबनेसम्म पूर्ण सञ्चालनमा नआउने भएकाले निजी क्षेत्रसँग सहकार्य गरेर चलायमान बनाउने कोशिस गर्ने बताए।
सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा लिएको ट्रान्स नेपाल टिआरएस लोजिपार्क प्रालिले चोभारमा सुक्खा बन्दरगाहको कामलाई नमूनाको रुपमा विकास गर्ने बताएको छ।
सञ्चारकर्मीहरुसँग ट्रान्स नेपाल टिआरएस लोजिपार्क प्रालिका प्रतिनिधि अनन्त सिंहले विराटनगर, काँकडभिट्टा, वीरगञ्ज र तातोपानीमा पनि सेवा दीरहेको र चोभारमा पनि सोही सेवाको निरन्तरता दिने बताए। उनले चोभारलाई नमुनाको रुपमा विकास गर्ने उल्लेख गरे।
उनले चोभार सुक्खा बन्दरगाहलाई राम्रोसँग सञ्चालन गर्न आफूहरु प्रतिबद्ध रहेको बताए।