News Desk
दमौली — भाद्र २५, २०७७।
मिर्गौला रोगी ३६ वर्षीय एक पुरुषले राष्ट्रिय मिर्गौला उपचार केन्द्र दमौली अस्पतालमा डायलासिस गराउँदै आएका थिए। यहीबीच उनलाई ज्वरोले सतायो। कोरोना लक्षण देखिएपछि पोखरा गएर परीक्षण गराउँदा सोमबार नतिजा पोजिटिभ आयो।
केन्द्रले व्यास–४ का ती पुरुष कोरोना संक्रमित पुष्टि भएपछि उपचार गर्न अस्वीकार गरेको छ। बरु पोखरास्थित पश्चिमाञ्चल अस्पताल जान भन्यो। एम्बुलेन्स चढेर मंगलबार बिहान उनी पोखरै पुगे।
तर, त्यहाँका चिकित्सकले ‘केही खबर छैन’ भनेर त्यत्तिकै फर्काए। ‘कसलाई सोधेर यहाँ आएको ? यहाँ उपचार हुँदैन, उतै जानुस् भनेर फर्काइदिए’, बिरामीकी पत्नीले भनिन्, ‘१० बजे गएको साढे दुई घण्टा कुरेपछि त्यत्तिकै फर्कियौं।’
पोखरामा डायलासिस नहुने भएपछि पतिपत्नी एम्बुलेन्सबाटै दमौली फर्किए। ‘यताकाले उता जाऊ भनेर पठाए। उता किन आएको भनेर हपारे’, ती महिलाले भनिन्, ‘बूढाले गाह्रो भयो भनेको भन्यै गर्नुभाछ अब कसो गर्ने ? ’
पोखराबाट फर्किएपछि उनलाई मंगलबारै काठमाडौं जान भनियो। ‘पोखराबाट फर्केपछि अब काठमाडौंमा गएर डायलासिस गर्नुपर्छ भने’, उनले भनिन्, ‘हामी जान तयार पनि थियौं तर बस्ने, खाने व्यवस्था नहुने भनेपछि कसरी जाने ? ’
ज्वरो र कमजोरी देखिएकाले पहिले पनि पालोभन्दा अघि नै डायलासिस गराएका ती पुरुषलाई अहिले झनै गाह्रो भएको पत्नीको भनाइ छ। ‘यस्तो बेला झनै आत्तिनु भएको छ’, उनले भनिन्, ‘तर, घरि कता जा भन्छन् घरि कता।
मैले केही गर्न सकिनँ।’ बिरामी पुरुष व्यास–३ दमौलीको किरियापुत्री भवनमा आइसोलेसनमा बसेका छन्। केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले कोठा अभाव भएकाले ती बिरामीलाई पोखरा जान सुझाव दिइएको बताएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।