News Desk
काभ्रेको पाँचखाल जोरपाटी माविका प्रधानाध्यापकसहित दुई शिक्षक छात्रामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्। उनीहरुलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ।
पाँचखाल नगरपालिका–६ मा रहेको जोरपाटी माविको कक्षा ९ मा पढ्ने छात्रामाथि शिक्षकले होटेलमा लगेर गत कात्तिक ११ गते करणी भएको घटना बाहिरिएपछि उनीहरु पक्राउ परेका हुन्। प्रधानाध्यापक गणेशमान गुरुङ र शिक्षक मच्छेनारायण श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख भाग्येन्द्र पुरुष ढकालले जानकारी दिएका छन्।
पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले विद्यालय अनुगमन गर्ने क्रममा सो घटनाको रहस्य खुलेको हो। विद्यालयका प्रधानाध्यापकले घटना लुकाउन भूमिका खेलेको र छात्रालाई अश्लील सन्देशसमेत पठाएको खुलेको छ। करिब २ महिना अगाडि घटेको घटना बाहिरिएसँगै मेयरले शिक्षक र प्रधानाध्यापकलाई प्रहरीको जिम्मा लगाएका हुन्।
विद्यालय व्यवस्थापन समितिले ती प्रधानाध्यापकलाई बर्खास्त गरी विद्यालयमा कार्यवाहक प्रधानाध्यापकसमेत तोकेको छ।