चितवनको सौराहामा जारी १७औँ हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत बिहीबार भएको डुंगा दौड प्रतियोगितामा खैरहनी नगरपालिकाले प्रतिनिधित्व गरेको डुंगा प्रथम
News Desk
Dec-29 , 2023 तारिख 05:45 बेलुका

 चितवनको सौराहामा जारी १७औँ हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत बिहीबार भएको डुंगा दौड प्रतियोगितामा खैरहनी नगरपालिकाले प्रतिनिधित्व गरेको डुंगा प्रथम भएको छ । चितवनका सातवटा स्थानीय तहले भाग लिएको सो प्रतियोगितामा रत्ननगर नगरपालिका द्धितीय र माडी नगरपालिका तृतीय भएको महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल संघ सौराहाका कोषाध्यक्ष माधव दुवाडीले जानकारी दिनुभयो । सौराहास्थित राप्ती नदीको एक हजार ५०० मिटरमा डुंगादौड प्रतियोगिता गरिएको हो ।

निर्धारित दुरी १२ मिनेट ४५ सेकेण्डमा पार गरी खैरहनीको प्रतिनिधित्व गरेका होमबहादुर कुमालले चलाएको डुंगा प्रथम, १२ मिनेट ४६ सेकेण्डमा निर्धारित दुरी पार गरी रत्ननगरको प्रतिनिधित्व गरेका आइते तामाङले चलाएको डुंगा द्धितीय र १२ मिनेट ४७ सेकेण्डमा निर्धारित दुरी पार गरी माडीको प्रतिनिधित्व गरेको दीपक बोटेले चलाएको डुंगा तृतीय भएका थिए । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई महोत्सव समापन समारोहमा शिल्ड र नगद पुरस्कार प्रदान गरिने छ ।