News Desk
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगर क्षेत्रका सांस्कृतिक सम्पदाहरु २ वर्षभित्र बनाइसक्ने बताएका छन्।
शुक्रवार ललितपुर-१९ को सदभाव मेला उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले महानगर क्षेत्रभित्र बनाउनुपर्ने मठ, मन्दिर, शिवालय, देवालयहरु अबको २ वर्षभित्र बनाइसक्ने प्रतिबद्धता जनाए।
उनले महानगरपालिकालाई स्मार्ट सिटी बनाउन आफू अघि बढिरहेको पनि बताए। उनले महानगरको नीतिअन्तर्गत पोखरीहरु मास्न नदिने स्पष्ट पारे। उनले ललितपुर महानगरले सम्पदाको क्षेत्रमा धेरै काम गरिसकेको र लगभग १४० वटा पार्टी पौवा बनाइसकेको बताए।
‘महानगरपालिकाले एउटा नीति लिएको छ, कुनै पनि संघ, संस्था, व्यक्ति जोसुकै होस् र उनीहरुलाई सार्वजनिक जग्गा, ऐलानी जग्गा दिँदैनौँ र स्ट्रक्चर पनि बनाउन दिँदैनौँ। महानगरपालिकालाई स्मार्ट सिटी बनाउने भन्दै गर्दा स्मार्ट सिटीमा घटीमा पनि १० प्रतिशत खाली जग्गा हुनुपर्छ। त्यहाँ जो कोही पनि मर्निङ, इभिनिङ वाक गर्न पाउनु पर्छ। हामीसँग ३ प्रतिशतमात्रै खुला जग्गा छ‚’ उनले भने‚ ‘यहाँका धेरै पोखरी निर्माण गरेका छौँ‚ संवर्द्धन गरेका छौँ। धेरै पार्क निर्माण गरेका छौँ। यही नीतिअन्तर्गत कुनै पनि पोखरी‚ सार्वजनिक जग्गा मास्न दिँदैनौँ। लगभग १४० वटा पार्टी पौवा बनाइसकेका छौँ। महानगर क्षेत्रभित्र बनाउनुपर्ने मठ, मन्दिर, शिवालय, देवालय २ वर्षभित्र बनाइसक्ने छौँ।’