विरामीको मृत्युपछि बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा तनाव
News Desk
Dec-31 , 2023 तारिख 11:53 बिहान

उपचारका क्रममा विरामीको मृत्यु भएपछि झापाको बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा तनाव उत्पन्न भएको छ। मृतकका परिवार र आफन्तले अस्पतालको लापरवाहीका कारण विरामीको मृत्यु भएको भन्दै घेराउ र तोडफोड गर्न खोजेपछि तनाव उत्पन्न भएको हो।

घुँडामुनि सुन्निएको समस्या लिएर बिर्तामोड-९ की ३५ वर्षीया नर्वदा बाँसकोटालाई मनमोहन अस्पतालमा सोमवार विहान उपचार गर्न ल्याइएको थियो। उनको उपचारमा लापरवाही गरेकाले मृत्यु भएको भन्दै आफन्तहरु क्षतिपूर्ति र स्वास्थ्यकर्मीलाई कारबाही गर्नुपर्ने मागसहित प्रदर्शनमा उत्रेका हुन।

अस्पताल व्यवस्थापनले सोमवार विहान ल्याइएकी महिलाको उपचारका क्रममा साँझ मृत्यु भएको जनाएको छ। मृतकका छोराछोरीको पालनपोषण, शिक्षादिक्षाका लागि क्षतिपूर्ति र लापरवाही गर्ने स्वास्थ्यकर्मीलाई कारबाही गर्नुपर्ने माग रहेको मृतकका भाइ दिनेश बाँस्कोटाले बताए।

इमर्जेन्सीमा भर्ना भएको र विरामीलाई दिनभर राख्दासमेत कुनै पनि रिपोर्ट नदिएको साथै अस्पतालले विरामीको उपचार नगरेको आरोप मृतकका आफन्तले लगाएका छन। ‘रिपोर्ट नदिनु र उपचार नगर्नु लापरवाही हो,’ मृतकका भाइ दिनेश बाँस्कोटाले भने।

अस्पताल प्रशासनले घटनाबारे छलफल भइरहेको जनाएको छ। मृतकको शव अस्पतालको आईसीयूमा रहेको जनाइएको छ। प्रहरीले सोमवार बेलुकादेखि नै अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा बनाएको छ।

धेरै पढिएको