News Desk
दुईवटा विशेष कोरोना अस्पतालमध्ये एउटा दुई दिनदेखि खाली छ । गम्भीर संक्रमितको संख्या निकै घटेको छ ।
वीरगन्ज — भाद्र २६, २०७७ ।
साउन पहिलो सातादेखि कोरोनाको ‘हटस्पट’ बनेको वीरगन्ज भदौ दोस्रो सातादेखि सुधारोन्मुख देखिएको छ । भदौ ९ यता पर्सामा ४ सय २८ जना नयाँ संक्रमित थपिएका छन् । यही अवधिमा ८ सय ७५ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।
१० दिन अगाडिसम्म नारायणी अस्पतालमा दैनिक ६/७ जना गम्भीर किसिमका संक्रमित रेफर भएर आउँथे । अहिले दैनिक १/२ जना मात्र कडा कोरोनाका बिरामी आउने गरेका छन् ।
लक्षणसहितका संक्रमितको उपचारका लागि वीरगन्जमा सञ्चालनमा आएका दुईवटा विशेष कोरोना अस्पतालमध्ये एउटा अस्पताल दुई दिनदेखि खाली छ । १ सय २० शय्याको नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा भर्ना भएका संक्रमित निको भएर घर फर्किएका छन् । मंगलबारदेखि यहाँ नयाँ संक्रमित भर्ना भएका छैनन् । ७० बेड भएको नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा २९ पुरुष र १० महिलासहित ३९ जना संक्रमित छन् ।
जसमध्ये ६ जना आईसीयूमा छन् । नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा.नीरजकुमार सिंहका अनुसार जिल्लाको पछिल्लो विवरणले कोरोना संक्रमण ओरोलोतर्फ गइरहेको देखाउँछ । ‘साउनमा वीरगन्ज बजार क्षेत्रका अधिकांशमा ज्वरो, रुघाखोकीको समस्या देखिएको थियो,’ संक्रमितको उपचारमा संलग्न रहेका डा. सिंह भन्छन्, ‘कतिपयले चिकित्सकको सल्लाहमा घरमै औषधि सेवन गरेर बसे र ज्वरो, खोकी निको पनि भयो ।’
नारायणी अस्थायी गण्डक कोरोना अस्पतालका इन्चार्ज डा.उदयनारायण सिंह मास टेस्टिङ र कन्ट्याक्ट ट्रेसिङको संख्या कम भएर पनि संक्रमितको संख्या नबढेको देखिएको बताउँछन् । ‘नयाँ संक्रमितको संख्या त घटेकै छ,’ उनले भने, ‘तुलनात्मक हिसाबले कडा र गम्भीर किसिमका बिरामीको सख्ंया पनि घट्दो छ ।’ पछिल्लो समय सहरभन्दा पनि गाउँबाट कोरोनाका गम्भीर संक्रमित आउने गरेको उनले खुलाए ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको बुझाइमा निषेधाज्ञा कोरोना नियन्त्रणको उपयुक्त विकल्प बन्यो । नियन्त्रणका लागि ३ वटा रणनीतिमा केन्द्रित रहेर काम गरेको उनले बताए । ‘परीक्षण, संक्रमितको व्यवस्थापन र उपचार रणनीति कार्यान्वयनमा ल्यायौं,’ उनले भने, ‘भदौ दोस्रो सातादेखि जिल्लामा कोरोना संक्रमितको संख्या घट्दो छ । यो खुसीको कुरा हो ।’ संक्रमितको सम्पर्कमा आएका, शंका गरिएका र संक्रमित क्षेत्रमा स्वाब परीक्षण व्यवस्थित बनाएको उनले बताए । संक्रमितका लागि अस्पतालको व्यवस्थापन र चिकित्सकीय सेवा पनि प्रभावकारी बनाइएको छ । ‘कोरोनाविरुद्धको सचेतनाले पनि रोकथाममा सहयोग पुर्यायो,’ उनले भने, ‘विभिन्न गैरसरकारी संस्था र नागरिक समाजबाट सहयोग मिलेको छ ।’ औद्योगिक क्षेत्र पनि स्वास्थ्य प्रोटोकल पालना गरेर मात्र सञ्चालनमा आउन दिइएको छ ।
बजारमा चहलपहल
जिल्ला सुरक्षा समितिले गत भदौ १९ देखि जारी निषेधाज्ञाकै क्रममा आलोपालो गरी वीरगन्ज बजार खोल्न दिने निर्णय गरेको छ । झन्डै ४० दिनपछि बजार खुलेपछि अहिले चहलपहल बढेको छ । पसलमा आएका ग्राहकलाई सामाजिक दूरी कायम गर्ने र भीडभाड नियन्त्रण गर्ने सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यवसायीको हुने प्रशासनले जनाएको छ ।
वीरगन्ज उद्योग वाणिज्य संघले समेत नियमको पालना भए/नभएकोबारे अनुगमन गर्ने गरेको छ । संघका अध्यक्ष गोपाल केडियाले लामो समयपछि बजार खुलेपछि चहलपहल बढेको बताए । ‘पसल खुलेपछि व्यापारीलाई एउटा बस्ने थलो पनि भएको छ, आफ्नो पूजापाठ गर्न, झाडुपोछा गर्न पाएका छन्,’ उनले भने, ‘पसल खुलेपछि जथाभावी घुम्नु पर्दैन ।’
उनका अनुसार अहिले खाद्यान्न, औषधि र निर्माण सामग्रीबाहेकका पसलमा ग्राहकको भीड देखिँदैन । ‘यहाँ ग्राहक आउने भनेको सीमावर्ती भारतीय बजार, बारा, रौतहट र ग्रामीण क्षेत्रबाट हो,’ अध्यक्ष केडियाले भने, ‘सार्वजनिक यातायात नचलेकाले ग्रामीण क्षेत्र र अन्य जिल्लाबाट आवागमन ठप्पप्राय: छ । नाकाबाट अहिले आवतजावत निषेध गरिएकाले भारतीय ग्राहक पनि आएका छैनन् ।’
जिल्ला प्रशासनले उपलब्ध गराएको विवरणअनुसार बिहीबारसम्म जिल्लामा २ हजार ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये एक हजार ६ सय ३० जना निको भएका छन् । हालसम्म ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
(कान्तिपुर दैनिक)