बारीमा बाँधेका गोरु काट्ने दुई पक्राउ
News Desk
Sep-12 , 2020 तारिख 07:10 बिहान

दुल्लू— भाद्र २७, २०७७। 

दैलेखको भैरवी गाउँपालिकामा बारीमा बाँधिएका गोरु मरणासन्न छन् । दुई गोरुमध्ये एउटा गोरुको अगाडीको दुइ वटै खुट्टा काटिएको छ । पुच्छर छैन । अर्को गोरुको नाकमाथि छेदबिच्छेद हुने गरी काटिएको छ । दुई वटै गोरुका गर्धनमा पटक–पटक हतियार प्रयोग गरिएको छ ।

भैरवी–२ रावतकोटस्थित सोबिन थापाले बारी मल्न घरदेखि टाढा गोरु बाँध्नुभएको थियो । उहाँको घरदेखि बारीमा पुग्न करिव पाँच मिनेट समय लाग्छ । पीडित थापाका अनुसार बिहान घाँस हाल्न जाँदा रक्ताम्मे अवस्थामा गोरु भेटिए । “गोरुको गएराती नै खुट्टा र मुख काटिएको हुनुपर्छ, बिहान मात्रै यसबारे थाहा पाए”, थापाले भन्नुभयो । बिहान गाउँपालिका र प्रहरीलाई खबर गरेपछि दुई जनालाई प्रहरी चौकी सिलङ्गी लगिएको छ । रातिको समयमा गोरु कराएको गाउँलेले सुनेका उहाँले जानकारी दिनुभयो ।

सोही वडाका वडाअध्यक्ष हरिबहादुर थापाका अनुसार बाघले आक्रमण गरेको हुनसक्ने भन्दै उनीहरु त्रासले बाहिर आउन सकेनन् । गोरु काटेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भैरवी–२ का शंकास्पदरुपमा स्थानीयवासी दुई जनालाई पक्राउ गरिएको जिल्ल प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नैनबहादुर सावदले जानकारी दिनुभयो ।

“शंकास्पद भनिएका दुई जनालाई नियन्त्रणमा लिई छानबिन गर्दैछौँ”, उहाँले भन्नुभयो, “यसबारेमा अहिले नै केही भन्न सकिदैन्, बाँकी अनुसन्धानका क्रममा खुल्छ, हामीले अनुसन्धान गरिरहेका छौँ ।”दुई वर्षअघि नै सामान्य विवाद भएको बताएका थापाले बिहीबार दिउँसो पनि गोरुका विषयमा विवाद भएको बताउनुभयो । सामान्य विवादका कारण शंकास्पद पक्राउ परेका राजु विष्टले नै गोरु काटेको थापाको आरोप रहेको खबर आजको समाचार पत्रले उल्लेख गरेको छ ।