मनोरञ्जन क्षेत्रमा कार्यरत महिला श्रमिकहरुको मानव अधिकार र अबको बाटो बिषयक नीति सम्वाद कार्यक्रम सम्पन्न
News Desk
Mar-29 तारिख 03:38 बेलुका

काठमाण्डौ । मनोरञ्जन क्षेत्रमा कार्यरत महिला श्रमिकहरुको मानव अधिकार र अबको बाटो बिषयक नीति सम्वाद कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सम्पन्न उक्त नीति सम्वाद कार्यक्रम  सिविसको आयोजनामा आएको हो । 

सो अवसरमा सिविस कि संस्थापक अध्यक्ष शान्ती अधिकारीले कार्यक्रमको उद्धेश्य बारे प्रकाश पार्नुहुदै मनोरञ्जन क्षेत्रमा लागेका महिलाहरुको समस्या समाधान र कानुनी प्रावधान बारे नीति निर्माता, सरोकारवाला महिला, सरकारी कार्यालयका प्रतिनिधी र अधिकारकर्मी आदि बीच छलफल गर्न कार्यक्रम आयोजना गरिएको बताउनुहुँदै पारिवारिक आर्थिक बोझ बढदै जादा  मनोरञ्जन क्षेत्रमा महिलाहरुको संलग्नता बढ्दै गएको उल्लेख गर्नुहुँदै यस क्षेत्रलाई मर्यादित र व्यवस्थित गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । 

 संविधान सभा सदस्य पेम्बा लामाले कार्यपत्र प्रस्तुत गर्नुहुँदै अनौपचारिक क्षेत्रमा श्रमिक र श्रम सम्बन्धी कानुनी व्यवस्था बारे चर्चा गर्नुभयो ।  करिब एक लाख महिलाहरु मनोरञ्जन क्षेत्रमा रहेको आँकडा प्रस्तुत गर्नुहुँदै लामाले कानूनी प्रावधानका वावजुद उनीहरु लैिङ्गक हिंसामा पर्दै आएको तथा कम पारिश्रमिकमा काम गर्न बाध्य हुनुपर्ने अवस्था रहदै आएकोले हक सुनिश्चितताका लागि व्यवहारिक पक्षमाथी जोड दिन आवश्यक रहेको औल्याउनुभयो । साथै, उहाँले मनोरञन क्षेत्रमा लागेका महिलाहरुलाई अधिकार बारे जानकारी दिनुपर्ने आवश्यकता रहेको बताउनुहुदै सबै भन्दा बढि यस क्षेत्रमा लागेका महिलाहरु जोखिममा रहदै आएको जनाउनुभयो । 

कार्यक्रममाझ मनोरञ्जन क्षेत्रमा लागेका श्रमिक महिलाहरुले आफनो समस्या राख्नुहुँदै आफनो पेशा बारे खुलेर कुरा गर्न नसकिएको, तलब बेलैमा नपाउने र श्रम संझौता बेगर काम गनृुपर्ने, अपमान तथा हिंसा खेप्न बाध्य हुदै आएको कुरा राख्नुभएको थियो। 

सो अवसरमा सांसदहरु तुलसा दाहाल, रमा कोईराला, निर्मला कोईराला, भगवती न्यौपाने, विमला घिमिरे, सुमित्रा बि.सी.ले बोल्नुभएको थियो । कार्यक्रममाझ धारणा राख्ने क्रममा उहाँहरुले दोहोरी साँझको विषयमा कुरा गर्दा पनि आरोप खेप्न बाध्य हुनु परेको,  विदेशमा जस्तो काम गर्न पनि अघी सर्ने तर स्वदेशमा काम नगर्ने परिपार्टीको अन्त्य आवश्यक रहेको, कानुन राम्रो बने पनि कार्यान्वयन फितलो हुने गरेको, किशोरावस्थामा रहेकालाई पार्टटाईम जागिर दिलाउन आवश्यक रहेको, ट्रेड युनियनलाई जिम्मेवार बनाउन आवश्यक रहेको आदी बारे प्रकाश पार्नुहुदै मनोरञ्जन क्षेत्रलाई मर्यादित बनाउन आग्रह सहित आ आफनोतबरबाट नीतिगत तथा समग्र अवस्था सुधारका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा आयोजक संस्था सिविसकी अध्यक्ष विमला ज्ञवालीसहित महिला बालबालिका मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, महिला आयोग, ट्रेड युनियन आदीका प्रतिनिधी, नागरिक समाजका अगुवा आदीले धारणा राखेका थिए ।