सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिदै
News Desk
Apr-04 , 2024 तारिख 05:39 बेलुका

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिनु हुने भएको छ । मुख्यमन्त्री शाहले मंगलबार विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराउनुभएको हो । प्रदेशसभा सचिवालयले आज तीन बजेको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने सूचना निकालेको प्रदेशसभा सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि मुख्यमन्त्री शाहले २२ फागुनमा माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्नुभएको थियो । संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ । साथै विश्वासको मत लिने सूचना दुई दिनअघि नै प्रदेशसभालाई दिनुपर्ने नियमावलीमा व्यवस्था छ । त्यस अनुसार मुख्यमन्त्री शाहले सूचना दिनुभएको हो ।

प्रदेशसभाको सबभन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन् । ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिन्छ । मुख्यमन्त्री शाहले सरकार जोगाउने प्रयासमा नागरिक उन्मुक्ति पार्टीका ५ सांसदलाई मन्त्री बनाउनु भएको छ । तर सरकारलाई समर्थन गर्ने-नगर्नेबारे नाउपामा चर्को विवाद छ । सरकारमा नभएका नाउपाका अरु दुई सांसद समर्थन नगर्ने पक्षमा देखिएका छन् ।

धेरै पढिएको