गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त हुनुभएको छ
News Desk
Apr-07 , 2024 तारिख 01:54 बेलुका

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । अधिकारीले सभामुखसहित ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाएर मुख्यमन्त्रीमा नियुक्त गर्न आज बिहान प्रदेशप्रमुख डिल्लीराज भट्टसमक्ष निवेदन बुझाउनुभएको थियो । एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपालीका अनुसार एमालेका २२, नेकपा माओवादी केन्द्रका ८ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थन रहेको छ । कूल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ ।

गत बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले यही चैत २७ गते ३ बजेसम्म मुख्यमन्त्रीमा दाबी गर्न समय दिनुभएको थियो । समयसीमा सकिनु भन्दा दुई दिन अगावै गठबन्धन दलले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । कूल २७ सदस्य रहेको प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट मुख्यमन्त्री बन्नुभएका पाण्डेले विश्वासको मत पाउने आधार नदेखेपछि राजीनामा दिनुभएको थियो । तर नेकपा एमालेका खगराज अधिकारीले पेश गरेको दावी गैर संवैधानिक भएको भन्दै नेपाली काँग्रेसले प्रदेश प्रमुखलाइ जानकारी गराएको छ ।

धेरै पढिएको