प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालको भ्रमणमा रहनुभएकी जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भे
News Desk
May-06 , 2024 तारिख 04:11 बेलुका

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालको भ्रमणमा रहनुभएकी जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय चासो, आर्थिक सहकार्य लगायतका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर रुपक सापकोटाले जानकारी दिनुभयो । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपालको आर्थिक एवं सामाजिक विकासमा जापान सरकारले सहयोग पुर्याउँदै आएको र पछिल्लो समय नेपालको ठूला पूर्वाधार निर्माणमा पनि महत्त्वपूर्ण सहयोग गरेको बताउनुभयो ।

उहाँले नेपालको पूर्वाधार एवं आर्थिक–सामाजिक क्षेत्रमा जापान सरकारबाट प्राप्त हुँदै आएको योगदानप्रति आभार व्यक्त गर्नुभयो । “नेपाल–जापानबीच हुँदै आएको उच्चस्तरीय भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्ध अझ सबल हुने बताउँदै प्रधानमन्त्री प्रचण्डले “आगामी दिनमा नेपाल र जापान दुवैतर्फबाट उच्चस्तरीय भ्रमण हुने विश्वास लिएकोप उल्लेख गर्नुभयो ।

सो अवसरमा जापानी विदेशमन्त्री योकोले नेपाल–जापानबीच सम्बन्ध सदैव सौहार्दपूर्ण रहँदै आएको उल्लेख गर्दै दुई देशबीच रहिआएको समस्यारहित मित्रवत सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले आर्थिक विकासमा नेपालले राखेका लक्ष्य पूरा गर्नका लागि जापान सरकारले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर सापकोटा, परराष्ट्र सचिव सेवा लम्साल, जापानका लागि नेपालका राजदूत डाक्टर दुर्गाबहादुर सुवेदी, नेपालका लागि जापानी राजदूत किकुता युताका लगायतका उच्च अधिकारीको सहभागिता रहेको थियो ।

धेरै पढिएको