मन्त्री परिषद्ले विभिन्न खेलमा सफलता प्राप्त गरेका खेलाडीलाई‌ नगद पुरस्कार दिने
News Desk
May-10 , 2024 तारिख 05:51 बेलुका

मन्त्री परिषद्ले विभिन्न खेलमा सफलता प्राप्त गरेका खेलाडीलाई‌ २ करोड ९७ लाख १० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । मन्त्री परिषदको‌ हिजो बसेको बैठकले निर्णय गरेसँगै एसियन गेम्समा पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका हुन् । अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृति दिने निर्णय बैठकले गरेको हो ।

आइसिसी मेन्स टि ट्वान्टी वल्ड कप फाइनल एसियामा दोस्रो भएको नेपाली क्रिकेट टोलीले कुल २ करोड ४ लाख ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । एसियन गेम्समा रजत विजेता कराते टिमले कुल २५ लाख ३५ हजार प्राप्त गर्नेछन्। कबड्डी टिमले कुल ४८ लाख दश हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

१९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाउन सफल ऐरिका गुरुङले १९ लाख ५० हजार प्राप्त गर्नेछिन् भने चौथो एसियाली पारा खेलकुद २०२२ मा कास्य जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले १३ लाख प्राप्त गर्नेछिन् । लामो समयदेखि सरकारले घोषणा गरेको पुरस्कार प्रदान गर्न खेलाडीहरूले बारम्बार अनुरोध गर्दै आएका थिए । पुरस्कार प्राप्त हुदा खेलाडीमा उत्साह थपिएको छ ।

धेरै पढिएको