News Desk
जैविक विविधता तथा पर्यावरण संरक्षण गर्न गत चैत २९ गते नेपाली सेनाको अगुवाइमा सञ्चालित सफा हिमाल अभियानमा सहभागी टोलीले सगरमाथा क्षेत्रबाट २ शव र १० टन फोहर संकलन गरेको छ।
टोलीले सगरमाथा‚ ल्होत्से र नुप्से हिमाल क्षेत्रबाट ती शव र फोहर संकलन गरेको हो।
टोलीले सगरमाथाको चौथो शिविरबाट एउटा तथा ल्होत्से हिमालको शिखर नजिकबाट एउटा गरी २ वटा मानव शव तथा लोलापास फेदी इलाकाबाट मानव अस्थिपञ्जरहरू सङ्कलन गरी आज काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्ज ल्याई फरेन्सिक ल्याबमा परीक्षणका लागि बुझाएको छ।
सफाइ अभियानको दौरानमा संकलन गरेको फोहोरमध्ये २५० केजी कुहिने फोहोर सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई हस्तान्तरण गरिएको छ।
यस वर्षको सफा हिमाल अभियानअन्तर्गत सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट १० टन फोहोर तथा ५ वटा मानव शव सङ्कलन तथा व्यवस्थापन गर्ने योजना रहेको छ।