सरकारी कर्मचारीहरुसँग हिमचिम बढाउदै भेषराजको ठगी धन्दा
News Desk
May-24 , 2024 तारिख 07:21 बेलुका

काठमाण्डौ । भेषराज लुईटेल नाम गरेका एक व्यक्तिले आफूहरुलाई ब्ल्याकमेल गरेको भन्दै व्यवसायीहरु गुनासिन थालेका छन् । व्यापारीसँग पैसा असुल्ने काईताको धन्दा चलाउने गरेको आरोप लाग्दै आएका लुईटेलले पछिल्लो समय व्यापारीहरुलाई तर्साउदै पैसा बार्गेनिङ्ग गरेको चर्चा आर्थिक वृत्तमा गाईगुई चल्न थालेको छ । बैकिङ्ग कसुरका दोषी समेत रहेका उनले पछिल्लो समय सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक कमल भट्टरार्इसँग मेरोे नजिकको संबन्ध छ भन्दै व्यापारीहरुसँग हिमचिम बढाउने गरेको पाईएको छ । उनले यस अघि सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक पुष्प शाहीलाई आफैले सरुवा गराएर भट्टरार्र्इलाई नियुक्ती दिलाएको भन्दै गफ समेत दिदै हिड्ने गरेको स्रोत बताउँछ ।  एक पिडित व्यापारी (नाम गोप्य) ले नाम उल्लेख नगर्ने शर्तमा निजले आफूसँग हिमचिम बढाई पछि मोलमोलाई गर्न थालेपछि आजित बनेर मिडिया गुहार्न पुगेको दुखेसो पोखेका छन् ।

निजले पहिले पनि शंकरदास बैरागी मेरो दाई हो भन्दै र अन्य विभिन्न सरकारी कर्मचारीहरुलाई प्रभावमा पार्दै फोटो खिच्ने गरेको र पछि बदनाम गराउने कार्य गर्दै आएको भन्दै कर्मचारीहरु उनीबाट तर्कने गरेका थिए । निकट सम्बद्ध बनाएर कमजोरी पत्ता लगाउने र पछि उनीहरुलाई नै समस्यामा पार्ने उनको बानी रहेको स्रोतको दाबी छ । त्यसको एक ज्वलन्त उदाहरण पूर्व मुख्यसचिव शंकरदास बैरागी नै हुन् । विगतमा शंकरदास बैरागी मेरो दाई हो भन्दै हिड्ने लुईटेलले अहिले आएर उनै शंकरदास बैरागीको नियुक्ती विरुद्ध मुद्धा हालेका छन् । बैरागीको राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्तिको विषय संसदीय समितिमा पुगेको छ । सल्लाहकारमा निर्वतमान मुख्य सचिव शंकरदाश बैरागीको नियुक्ति अवैधानिक रुपमा भएको भन्दै राज्य व्यवस्था तथा सुशासन समितिमा लुईटेलले उजुरी गरेका हुन् ।

पाल्पा मुल घर भई गौशाला बस्दै आएका लुइटेलले संसदीय समितिमा हालेको उजुरीमा वैरागीको  नियुक्ति नै वैधानिक नरहेको उल्लेख छ । गत वर्ष जेठमा सल्लाहकार नियुक्तको निर्देशिका हतार हतारमा तयार गरेर २०८० जेठ ३० गते गरिएको नियुक्ति शंकास्पद रहेको उनले निवेदनमा जिकिर गरेका छन् ।  राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार मन्त्री सरहको सुविधा पाउने गरि गत वर्ष भएको नियुक्तिको विरुद्ध लुईटेलले अदालतमा समेत उजुरी गरेका छन् ।उनी शंकरदास बैरागीको नियुक्तिको विषयलाई लिएर नियामक निकाय धाइरहेको चर्चा पनि चलिरहेको छ ।

विगतमा पनि केही उच्च पदस्थ व्यक्तिसँग निकटता बढाउदै नटवलरलाल शैलीमा ठगी धन्दा गर्दै आएको पाईएको थियो। लुईटेलको ठगी धन्दाबाट आफुहरु पीडित भएको भन्दै दर्जनौं व्यक्तिहरूले प्रहरीमा उजुरीसमेत दिएका छन् । चुनावको टिकट, सरुवा–बढुवा देखी ठूला ठेक्का समेत दिलाईदिने आश्वासन दिएर ठगी गर्दै आएको व्यहोरासहितको उजुरी लुँइटेल विरुद्ध परेको थियो । 

निजबाट पिडित बन्नेमा ग्यालेक्सी स्कुलकी सञ्चालिका गीता राणाकी छोरी ज्योत्सना सिंह समेत हुन । सिंहको काम गराइदिने भन्दै उनले लाखौं रकम लिए पनि काम गर्न नसकेपछि लुईटेलले नेपाल इन्भेष्टमेन्ट बैंकको चेक दिए । सो चेक बाउन्स भएपछि पीडितले प्रहरी परिसर, टेकुमा उजुरी दिईन । सिँहको उजुरीको आधारमा निजलाई प्रहरीले पक्राउ गरि बैकिङ् कसुरमा अदालतमा मुद्दा दायर गर्यो । काठमाडौं जिल्ला अदालतमा सिंहले दिएको मुद्दा नं २६५ /२०६७-०५र-१४ रहेको छ । सो मुद्दाको किनारा लगाउदै अदालतले लुईटेललाई दोषीसमेत ठहर गर्‍यो । उनीविरुद्ध चेक बाउन्सको उजुरी त्यतीमा रोकिएन् । पछि पनि थप केही व्यक्तिले उनी विरुद्ध चेक बाउन्सको निवेदन दिए । यद्यपि शक्तीकेन्द्रको आडमा उनी एक दुई दिनमै छुट्दै गए । कतिपय व्यक्तिहरू प्रतिष्ठाका कारण उजुरी गर्न समेत नगएको पाईएको छ ।

त्यसो त लुईटेलको ठगी धन्दाबाट व्यापारी बिनोद चौधरी, एभरेष्ट होटलका सञ्चालक मशुर अहमद लारी, कालिञ्चोक केबलकारका सञ्चालक तथा लगानीबोर्डमा सदस्य रहेका बालकृष्ण शिवाकोटीसमेत पीडित बनेका छन्। बबरमहलस्थित रिभिजिटेड होटल छेउमा जग्गा भएका रायमाझी थरका एक व्यक्ती समेतलाई लुइँटेलले पीडित बनाएको बुझिएको छ । त्यस्तै, चुनाव ताका टिकट दिलाइदिने भन्दै उनले करोडौं असुल्ने गरेको विषय पनि चर्चामा आएको थियो । उनीबाट त्यसरी पिडित बन्नेमा चितवनका केशबप्रसाद कँडेल रहेका छन् । पैसा माग्ने तर काम फत्ते नगर्ने नटवरलाल शैलीका लुईटेलसँग पछि रकम फिर्ता माग्दा फोन गर्न लगाएर धम्काउने गरेको पीडित पक्षको दाबी छ। लुईटेलले लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुँदा केही व्यक्तिलाई बयानमा बोलाएर पैसा असुल्ने धन्दामा पनि संलग्न रहेको ति पिडितको भनाई छ ।

उच्च पदस्थ व्यक्तिलाई प्रभाव पार्न सफल रहेसँगै उनको ठगी धन्धा फस्टाएको एक पिडितले बताए । उनीहरुसँग सिधा पहुँच भएको देखाउदै उनले नेपालका करोडपतिहरूलाई ठगी गरेको उनको दाबी छ । यसरी उनले ५० करोड भन्दा धेरै रकम असुल गरेको दाबी सहित एक पीडित भन्छन्,’यस्ता व्यक्तिसँग उच्च पदस्थहरु सतर्क हुन जरुरी छ, अरुलाई ठगी गरेको पैसाबाट उपहार दिने र त्यही आडमा संरक्षण खोज्ने मानिसबाट टाढै बस्नु राम्रो हो भन्ने हेक्का राख्नुपर्छ अन्यथा उसले दुख दिन्छ' । लुईटेलले आफैं उजुरी हाल्ने र मानिसहरुलाई धम्काएर फाइदा लिने गरेको स्रोत बताउछ ।

धेरै पढिएको