चाँगुनारायणमा खहरे खोला, कुलो, खोल्सा मासेर सडक बनाउन थालेपछि स्थानीय आन्दोलित
News Desk
Jun-19 , 2024 तारिख 06:36 बेलुका

चाँगुनारायण नगरपालिकामा बस्ती विकासको नाममा खहरे खोला, कुलो, खोल्सा मासेर सडक बनाउन थालेपछि स्थानीय आन्दोलित भएका छन।

चाँगुनारायण नगरपालिका वडा नं २ स्थित असल छिमेकी टोलमा बस्ती विकासको नाममा खहरे खोला, कुलो, खोल्सा मासेर ह्युम पाइप राखी सडक निर्माण थालेपछि स्थानीय आन्दोलित भएका हुन। 

उनीहरुले नक्सामा १२ देखि १५ फिट रहेको खहरे खोला‚ कुलो, खोल्सा मासेर ह्युम पाइप राखेर सडक बनाउँदा बस्ती नै डुबानको चपेटामा परेको गुनासो पनि गरेका छन। 

यस विषयमा जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराउँदासमेत जबरजस्ती राति राति काम गर्ने गरेको आरोप पनि उनीहरुले लगाएका छन।

खोला, कुलो, खोल्सा मासेरसडक निर्माण गरेको विरोधमा स्थानीयमात्र नभई जनप्रतिनिधिहरुसमेत आन्दोलित भएका छन। 

चाँगुनारायण नगरपालिका वडा नं २ का वडा सदस्य उमेश प्रधान र महिला सदस्य राधादेवी गैडाले आफूहरुको विरोधका बाबजुद पनि वडाध्यक्ष सोमप्रसाद प्रधानको एकलौटी निर्णयबाट जबरजस्ती काम भएको आरोप लगाए।

नगरपालिका र वडाको योजनाअनुसार तीनवटा उपोभोक्ता समितिमार्फत काम भइरहेको जानकारी गराउँदै नियमविपरीत कुनै पनि काममा हस्ताक्षर नगर्ने भनी विरोध जनाउँदा तथा नगरपालिकाले रोक्न पत्र काट्दासमेत राति राति काम गरेको गुनासो उनीहरुले गरे। 

वडा सदस्यहरुले नियमविपरीत भएको काम नरोकिए अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायमा उजुरी हाल्ने चेतावनीसमेत दिएका छन।

वडा सदस्यद्वय प्रधान र गैडाले ह्युम पाइप निकालेर दाँया बाँया करिडोर निर्माण गर्नुपर्नेमा पनि जोड दिएका छन। चाँगुनारायण नगरपालिकामा बस्ती विकासको नाममा खोला, कुलो, खोल्सा मासेर सडक बनाउने काम भने यो नै पहिलो होइन।

यसअघि पनि नगरपालिकाभित्रका विभिन्न वडामा जबरजस्ती यस्ता काम हुँदै आएका छन। यस विषयमा नगरवासीले बारम्बार ध्यानाकर्षण गराउँदा समेत जनप्रतिनिधिहरु र सम्बन्धित निकाय काममा तेल हालेर बस्ने गरेको स्थानीयको आरोप छ।

 

 

धेरै पढिएको