News Desk
काठमाडौँ — आश्विन १, २०७७।
नेकपाका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको सपथ लिएका छन् । बिहीबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले उनलाई सपथ गराएका हुन् ।
सपथ ग्रहण पछि नेता गौतमले राष्ट्रियता, जनताप्रति बफादार भएर भूमिका निभाउने बताएका छन् ।
'राष्ट्रिय सभाको गरिमा र प्रतिष्ठा गरिाउने छैन,' उपाध्यक्ष गौतमले भने,' म नेपालको संविधान बमोजिम यहाँ उपस्थित भएको छु । राष्ट्रिय सभाको काम कारबाहीमा प्रस्तुत हुनेछु ।'
नेकपाका सचिवालय सदस्य समेत रहेका नेता गौतमले पार्टीको समाजवादमा जाने लक्ष्यमा पुग्न आफूले भूमिका खेल्ने पनि बताएका छन् ।
सपथ ग्रहण कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतको उपस्थिती थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेता गौतमलाई सरकारको सिफारिसमा बुधबार राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन् । राष्ट्रपतिले मोनिनत गर्ने राष्ट्रियसभाका तीन सदस्यको कोटामध्ये एउटा पद झन्डै ६ महिनादेखि खाली थियो ।
यो कोटामा नेकपाका उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय नेकपा सचिवालयले गरेको थियो । प्रतिनिधिसभा निर्वाचनमा पराजित गौतमलाई राष्ट्रियसभा पठाउने निर्णयको विरोध भए पनि बुधबार मन्त्रिपरिषद्ले गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
(कान्तिपुर दैनिक)