News Desk
मोरङमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन। सुन्दरहरैंचा नगरपालिका–५ गौशाला नजिक बूढीखोलाले बगाउँदा मंगलबार दिउँसो एक महिलाको मृत्यु भएको हो ।
दुई जना बेपत्ता भएका छन । एक जनाको जिवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।
सुन्दरहरैँचा नगरपालिका– ५ गौशला नजिकै बूढीखोलामा माछा मार्ने क्रममा दिउँसो १२ बजेतिर खोलामा अचानक आएको बाढीले चार जना महिलालाई बगाएको थियो । बाढीमा बगेका चारमध्ये सुन्दरहरैचा– ५ की २२ वर्षीया स्वस्तिका चौधरीको जिवितै उद्धार गरिएको छ ।
सोही स्थानकी २५ वर्षीय प्रेमकला चौधरीको शव बूढीखोलाको पश्चिम किनारमा भेटिएको प्रहरीले जनाएको छ । ६० वर्षीया असरादेवी चौधरी र ३० वर्षीया फुला चौधरी बेपत्ता छन ।
उनीहरुको खोजीका लागि मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीसहितको टोली खटिएको प्रहरी प्रवक्ता बस्नेतले बताए। यस्तै मोरङको केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईको खोलाले बगाउँदा मृत्यु भएको छ ।
बिहान साढे ९ बजे विद्यालय जाने उनलाई महुरे खोलाले बगाएको र एक सय मिटर तल शव भेटिएको प्रहरीले जनाएको छ । उनी केराबारी–४ चिउरी भञ्ज्याङस्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए।
विद्यालय जाँदै गरेका ५/६ जना बालबालिका एकै पटक बाढी आएको खोला तर्न खोज्दा राईलाई बगाएको हो ।