डलरको भाउ हालसम्मकै उच्च
News Desk
Jul-25 , 2024 तारिख 07:40 बेलुका

काठमाडौँ — श्रावण १०, २०८१। 

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर (बिक्री मूल्य) १३४.२६ रुपैयाँ तोकेको छ । यो हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा यो ५ पैसा बढी हो । पछिल्ला दिनहरुमा विश्व बजारमा डलरको माग बढ्दा भाउ बढेको हो । डलरको भाउ बढ्दा नेपाली रुपैयाँ कमजोर बनेको हो ।

यस्तै, बिहीबारका लागि अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमयदर (खरिद मूल्य) १३३ रुपैयाँ ६६ पैसा पुगेको छ । डलरको भाउ बढ्नु भनेकै भारतीयसँगै नेपाली मुद्रा कमजोर हुनु पनि हो ।

नेपाली मुद्रा कमजोर हुँदा विदेशी वस्तु आयात गर्दा बाहिरिने रकम बढ्न जान्छ । यसले मुलुकको व्यापार घाटा बढ्न गई सञ्चित विदेशी मुद्रामा समेत असर पर्न जान्छ । नेपाली रुपैयाँ कमजोर हुँदा वैदेशिक ऋण लगानी भुक्तानीको दायित्व समेत बढ्छ । विदेशबाट लिएको ऋणको साँवा ब्याज भुक्तानीका लागि पनि धेरै रकम तिर्नुपर्छ ।

पछिल्ला महिनामा नेपाली विदेशमा औषधोपचार, अध्ययन, भ्रमणलगायतका लागि जाने क्रम ह्वात्तै बढेको छ । डलर महँगो भएको समयमा विदेशमा औषधोपचार, अध्ययन, भ्रमण खर्च महँगो हुने भएकाले धेरै विदेशी मुद्रा राष्ट्रबाट बाहिरिन्छ । जसले अर्थतन्त्रका बाह्य अवस्था कमजोर बनाउँछ ।

डलरको मूल्यवृद्धिले नेपाल भित्रिने रेमिट्यान्समा भने सकारात्मक प्रभाव पार्दछ । यद्यपि आयातमा निर्भर नेपालको अर्थतन्त्रलाई समग्रमा डलरको मूल्यवृद्धिले नकारात्मक असर बढी पार्ने जानकार बताउँछन् ।