News Desk
काठमाडाैं — आश्विन ५, २०७७।
यसपटक बैंक तथा वित्तीय संस्थामा गरेको लगानीबाट आउने लाभांशबाट कुनै नयाँ योजना बनाउनुभएको छ रु त्यसो हो भने भने पर्खनु्स् है। त्यस्तो योजना बनाउनुअघि बैंक तथा वित्तीय संस्थाको वासलात हेर्नुपर्ने हुन्छ।
किनकि कोरोना महामारीका कारण गत वर्ष वाणिज्य बैंकहरूले ठूलो मात्रामा आम्दानी गुमाएका छन्। बैंकहरूले आम्दानी गुमाएपछि त्यसको असर लगानीकर्ताले पाउने लाभांशमा पर्दैछ। अघिल्लो वर्षको भन्दा बढी नाफा अपेक्षा गरेका लगानीकर्ताले यसपटक थोरै लाभांशमा चित्त बुझाउनुपर्ने हुँदा तयार पारिएका कैयौं योजना फेरबदल हुन सक्छन्।
कोरोना महामारीका कारण यसपटक अधिकांश वाणिज्य बैंकको नाफा गुमेको छ। आर्थिक वर्ष ०७५र७६ मा औसत १८।८५ प्रतिशत लाभांश वितरण गरेका बैंक तथा वित्तीय संस्थासँग गत वर्षको आम्दानीबाट औसतमा ११ प्रतिशत हाराहारी मात्र लाभांश वितरण गर्ने क्षमता छ। त्यस्तो लाभांशमा पनि नगद हात लाग्ने सम्भावना कम छ।
२७ वाणिज्य बैंकले हालै प्रकाशित गरेको विवरण अनसार आर्थिक वर्ष ०७६र७७ मा सबैको नाफा ७ अर्ब ३७ करोड रूपैयाँले घटेको छ। ती बैंकले आर्थिक वर्ष ०७५/७६ मा ६१ अर्ब ६९ करोड १ लाख रूपैयाँ खुद नाफा कमाएका थिए। तिनै बैंकले गत आर्थिक वर्ष ५४ अर्ब ३१ करोड ६० लाख रूपैयाँ मात्र कमाउन सकेका छन्।
गत आर्थिक वर्षको फागुन महिनासम्म राम्रो आम्दानी गरिरहेका बैंकलाई कोरोना महामारीसँगै चैत ११ पछि सुरु गरिएका लकडाउनले समस्या सिर्जना गरेको बैंकरहरूको भनाइ छ। गत वर्ष सबभन्दा बढी सिभिल बैंकको नाफा ३६ प्रतिशतले घटेको छ। सोही वर्ष नाफामा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडि देखिएको खबर आजको नागरिक दैनिकमा प्रकाशित छ।