आधिकारिक ट्रेड युनियनको निर्वाचन रोकियो
News Desk
Sep-22 , 2020 तारिख 12:41 बेलुका

वैशाखसम्म अहिलेकै समितिलाई निरन्तरता

काठमाडौं— आश्विन ६, २०७७। 

मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड- १९)को संक्रमण दिनदिनै बढ्दै गइरहेको अवस्थामा युनियनको निर्वाचन गर्दा थप संक्रमण फैलिने भन्दै उक्त निर्णय लिइएको बताइएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने र अहिलेको समितिलाई वैशाखसम्म निरन्तरता दिने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

'असोज २४ गतेका लागि तय भएको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने र अहिलेको कार्यसमितिलाई २०७८ वैशाखसम्म निरन्तरता दिने निर्णय भएको छ ,' भट्टराईले भने ।

आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्नका लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारलाई पत्र लेखेका थिए । उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर उक्त निर्वाचन स्थगित गरिदिन आग्रह गरेका थिए ।

(कान्तिपुर दैनिक)