कोरोनामा पनि बढ्यो रेमिटेन्स, साउनमा भित्रियो झन्डै ९३ अर्ब
News Desk
Sep-26 , 2020 तारिख 07:47 बिहान

काठमाडौ., असोज १० । कोरोना महामारीले वैदेशिक रोजगारी ठप्प भए पनि रेमिटेन्स भने वृद्धि भइरहेको छ । गत आर्थिक वर्षको अन्तिम महिना असारमा अहिलेसम्मकै बढी रेमिटेन्स एक खर्ब एक अर्ब रूपैयाँ भित्रिएको थियो । चालु आवको पहिलो महिना साउनमा पनि अघिल्लो साउनमा भन्दा बढी रेमिटेन्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको साउनमा ९२ अर्ब ७१ करोड रूपैयाँ रेमिटेन्स भित्रिएको छ । गत वर्षको तुलनामा चालु वर्षको साउनमा भित्रिएको रेमिटेन्स २३ प्रतिशतले बढी हो । विगतका वर्षको तथ्यांक हेर्ने हो भने साउन, भदौमा रेमिटेन्स तुलनात्मक रूपमा कम आएको देखिन्छ । कोरोना कहरकै बीचमा चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रेमिटेन्स अघिल्लो साउनमा भन्दा बढी भित्रिएकाले आगामी दिनमा पनि खासै घट्दैन कि भन्ने अनुमान गर्न थालिएको छ ।

कोरोना महामारीले वैदेशिक रोजगारीमा रहेका युवा समस्यामा परेको समाचार आइरहेका छन् । कोरोनाकै कारण फागुन २७ यता सरकारले पहिलोपटक वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति दिन बन्द गरेको छ । दुई महिनाअघि पुनः श्रम स्वीकृति दिन थाले पनि साउनमा भित्रिएको रेमिटेन्समा नयाँ श्रम स्वीकृति पाएकाको योगदान छैन । पुनः श्रम स्वीकृति दिन थालेयता करिब चार हजारजना वैदेशिक रोजगारीमा गएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

कोरोना महामारीका कारण यतिखेर धेरै नेपालीले काम गर्ने खाडी मुलुक र मलेसिया प्रभावित छन् । मन्त्रालयका अनुसार कोरोनाका कारण रोजगारी गुमाएपछि शुक्रबारसम्म विभिन्न मुलुकबाट ५७ हजार दुई सय ९७ घर फर्केका छन् । एक लाख ३६ हजार एक सय ५० जनाले घर फर्कन निवेदन दिएको मन्त्रालयले जनाएको छ । कोरोनाले थुपै्रै मुलुक प्रभावित भएपछि विश्व बैंकलगायत नेपाल राष्ट्र बैंकले अघिल्लो वर्षको तुलनामा गत आवमा १५ प्रतिशतसम्म रेमिटेन्समा गिरावट आउने प्रक्षेपण गरेको आजको नागरिक दैनिकमा खवर छ ।