News Desk
काठमाडौं । चाडपर्व नजिकिएसँगै मुख्य गाडी बिक्रेता कम्पनीहरुले ग्राहकलाई आकर्षित गर्न विभिन्न स्कीमहरु ल्याएका छन् । यस्तोमा गाडी किन्ने ग्राहकले तत्काल कति नाफा लिन सकिन्छ भन्दापनि आफुले खरिद गर्ने गाडीले भविष्यमा दिने सेवालगायतका विषयमा जान्न जरुरी हुन्छ ।
अहिले गाडी बिक्रेता कम्पनीहरुले अत्यन्त न्यून डाउन पेमेन्ट गरेरपनि गाडी खरिद गर्न सक्ने अफर गरेका छन् भने नगद छुट, एक्सचेन्ज सुविधा, एक वर्षको बीमा, थप एशोसरिज, लोयलटी वोनस जस्ता अफर दिइरहेका छन् ।
यदि तपाईले कम्पनीले घोषणा गरेका अफरकै भरमा कुनैपनि गाडी छनोट गर्नु भयो भने भविष्यमा त्यसले सृजना गर्ने दायित्व र सर्भिसमा व्योर्होनु पर्ने झन्झटले दुःख पाउनु पर्ने अवस्था आउन सक्छ । त्यसैले गाडी किन्नु पूर्व केही अत्यावश्यक विषयबारे जानकारी राख्नु पर्ने हुन्छ ।
१. बिक्रीपछिको सेवाः गाडी खरिद गर्नु पहिला कम्पनीले दिने बिक्रीपछिको सेवा र त्यसमा लाग्ने खर्चको विषयमा सामान्य जानकारी लिनु पर्छ । अन्यथा पछि गाडीमा समस्या आउन थालेपछि तपाईले हैरानी व्योर्होनु पर्ने हुन्छ ।
त्यसैले तपाईले छनोट गर्ने गाडी बिक्रेताको सर्भिस नेटवर्क कति छ ? पार्टसहरुको मूल्य कति महंगो छ ? र तपाईले आफ्नो गाडी लिएर मुख्यत यात्रा गर्ने क्षेत्रमा गाडीको सर्भिस उपलब्ध छ वा छैन भन्ने हेर्नु पर्छ ।
२. रिसेल भ्यालुः एउटा गाडी सधैभरी चढ्न जो कोहीलाई मन नलाग्न सक्छ । वा, कुनै कारण बस किनेको केही समयपछि तपाईको कार बिक्री गर्नु पर्ने हुन सक्छ । यस्तोमा सबै ब्राण्डका कारमा रिसेल मूल्य उस्तै आउँछ भन्ने हुँदैन । बजारमा धेरैले प्रयोग गर्ने, राम्रो सर्भिस सुविधा भएको, सहजै पार्टस लगायतका सामान उपलब्ध रहेको, ब्राण्ड प्रतिको विश्वास भएको जस्ता विषयले रिसेल मूल्य निर्धारण गर्छ ।
त्यसैले बजारमा रिसेल मूल्यको विषयमा जानकारी लिएर कुनैपनि ब्राण्डको कार किनेको खण्डमा पछि पछुताउनु पर्ने छैन ।
३. सुरक्षा फिचरः अहिले विश्वभर गाडी उत्पादकले मानव सुरुक्षामा निकै ठूलो खर्च गरिरहेका छन् । दुई वर्ष अगाडिसम्म एयरव्याग समेत उपलब्ध नभएका कारहरु बजारमा उपलब्ध रहेका थिए । तर, अहिले कार किन्दा एयरव्याग, इन्जिन इमोविलाइजर, एबीएस, इबीडी, पार्किङ सेन्सर, रिभर्स क्यामारा जस्ता वेसिक फिचर भएका गाडी खोज्नु पर्छ ।
४. आरामदायी यात्राः मानिसले घर र अफिसपछि सर्वाधिक धेरै समय विताउने सवारी साधनमा नै हो । यस्तोमा आफुले किन्ने कार आरामदायी र आकर्षक हुनु पर्छ भन्ने मान्यता विश्वभर रहेको पाइन्छ ।
एड्जस्टेवल स्टेरिङ, सिट लगायतका बेसिक फिचर भएका गाडी छनोट गर्नु पर्छ । सिटको क्वालिटी, इन्फोटेन्टमेन्ट सिस्टम, पावर वीन्डो जस्ता सामान्य फिचर नभएको गाडी किन्दा पछि आफैँलाई कठिन हुन सक्छ । त्यसैले यी विषयमा ध्यान दिएर गाडी किन्ने हो भने तपाईले गरेको छनोट सहि हुने छ ।