फ्रेन्च ओपन टेनिस सुरु
News Desk
Sep-28 , 2020 तारिख 09:35 बिहान

पेरिस — आश्विन १२, २०७७।

रोमानियाली शीर्ष वरीयताका खेलाडी सिमोना हालेपले सुस्त सुरुआत लिँदै फ्रेन्च ओपन टेनिसको पहिलो खेल जितेकी छन् । आफ्नो २९औं जन्मदिन मनाइरहेकी हालेपले स्पेनकी सारा सोरिब्स टोर्मोलाई ६–४, ६–० ले पराजित गरिन् ।

सन् २०१८ की फ्रेन्च ओपन विजेता पूर्व विश्व नम्बर एक हालेपले अहिले लगातार १५ खेलमा अपराजित छिन् । फेब्रुअरीयता उनी अपराजित रहेकी हुन् । पहिलोपल्ट सामना गरेकी सोरिब्सविरुद्ध पहिलो सेटमा ४–२ ले पछाडि परेयता उनले लगातार आठ गेम जितेकी थिइन् । जितसम्म पुग्न विम्बल्डन विजेतालाई एक घण्टा र २२ मिनेट आवश्यक परेको थियो । प्रतियोगिताको पहिलो दिन पूर्व विश्व नम्बर एक खेलाडी भिक्टोरिया अजारेन्का पनि विजयी रहिन् ।

उनले पहिलो चरणमा चिसो मौसमसँग संघर्ष गर्दै सुजाने लेनग्लेनलाई ६–१, ६–२ ले हराइन् । यूएस ओपनको उपविजेता रहेकी अजारेन्काले चिसोका कारण खेल्न गाह्रो भएको बताइन् । पुरुषतर्फ इटालीका किशोर खेलाडी जानिक सिनरले ११ औं वरीयताका डेविड गोफिनमाथि अप्रत्याशित रूपमा ७–५, ६–०, ६–३ को जित निकालेका छन् ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको