उपत्यकामा सवारी जाँचमा ट्राफिककाे कडाइ
News Desk
Sep-29 , 2020 तारिख 01:19 बेलुका

मंगलबार दिउँसो सवा १२ बजेसम्म ८ सयभन्दा बढी सवारी कारबाहीमा

काठमाडौं — आश्विन १३, २०७७। 

ट्राफिक प्रहरीले जोर–बिजोर प्रणालीलाई थप प्रभावकारी बनाउन काठमाडाैं उपत्यकामा सवारी जाँचमा कडाइ गरेको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५ बाट लागू हुनेगरी उपत्यकाभित्र जोर–बिजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरे अनुसार कडाइ गरिएको हो ।

काठमाडौं, ललितपुर र भक्तपुरभित्र चल्ने सवारी साधनलाई प्रहरीले कडाईका साथ चेकजाँच गरिरहेको छ । सवारी जाम बढ्न थालेपछि जोर–बिजोर प्रणालीलाई प्रभावकारी बनाउन जाँचमा कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ । नियम अनुसर जोर–बिजोर प्रणालीमा सञ्चालन नहुने सवारीलाई होल्डमा राख्ने गरिएको छ ।

दिउँसो सवा १२ बजेसम्मको तथ्याङ्क अनुसार ट्राफिक कारबाहीमा ८ सयभन्दा बढी सवारी परेका छन् । करिब ७ सय मोटरसाइकल र स्कुटर रहेका छन् । होल्ड गरिएको सवारीलाई साँझ ८ बजेमात्रै छाड्ने बताइएको छ ।

संक्रमणको जोखिम बढ्दै गएकाले जोर विजोर प्रणाली पूर्णरुपमा पालना गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । पछिल्ले समय उपत्यकामा संक्रमितको संख्या बढ्दै गएपनि निषेधाज्ञा खुकुलो भएपछि भीडभाड बढिरहेको छ ।

(कान्तिपुर दैनिक)