वामदेवको योग्यतामाथि उठेको प्रश्‍न सुनुवाइका लागि संवैधानिक इजलास गठन
News Desk
Sep-30 , 2020 तारिख 01:35 बेलुका

काठमाडौँ  — आश्विन १४, २०७७। 

राष्ट्रिय सभामा मनोनित नेकपा उपाध्यक्ष वामदेव गौतमको योग्यतामाथि उठेको प्रश्नबारे सुनुवाइ गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको नेतृत्वमा गठित ५ सदस्यीय इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् ।

उक्त संवैधानिक इजलासमा अधिवक्ता बद्रिराज भट्ट र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता गरेका छुट्टाछुट्टै निवेदन परेका छन् ।

त्रिपाठीको निवेदनमाथि सुनुवाइपछि सर्वोच्च अदालतले गत साता गौतमको मनोनयन ‘यथास्थितिमा राख्नु’ भन्ने आदेश गरी थप संवैधानिक जिम्मेवारी नदिनु भनेको थियो ।

संवैधानिक इजलासले दुवैपक्षको तर्क सुनी गौतमको मनोनयनमाथि अन्तरिम आदेश जारी गर्ने वा नगर्ने आदेश गर्नेछ । आदेश जारी गरेमा गौतमले राष्ट्रिय सभा सदस्यको जिम्मेवारी पाउने छैनन भने अन्तरिम आदेश जारी नगरेमा उनले मनोनयनअनुसारको अरु जिम्मेवारी लिन कानुनी रुपमा बाधा पर्नेछैन ।

(कान्तिपुर दैनिक)