बलिउड 'ड्रग्स' विवादको अन्तर्य
News Desk
Oct-01 , 2020 तारिख 06:28 बेलुका

आमसरोकारका विषयलाई वेवास्ता गर्ने तर बलिउडकर्मीको बदनाम गराउने प्रवृत्तिले भारतमा किन व्यापकता पाइरहेको छ ? 

काठमाडौँ — आश्विन १५, २०७७। 

‘छपाक’ रिलिज हुन दुई बाँकी थियो, बलिउड अभिनेत्री दीपिका पादुकोण दिल्लीस्थित जवाहरलाल विश्वविद्यालय (जेएनयू) पुगिन् । भाषणबाजी गरिनन्, मात्र हतियारधारी जत्थाको आक्रमणबाट घाइते विद्यार्थी नेता आयशी घोषलाई भेटिन्, सान्त्वना र ढाडस दिइन् । ‘गोदी मिडिया’ले यसलाई फिल्म प्रचारको सस्तो हत्कन्डा भनिदियो, मोदीभक्तले ‘बाईकट छपाक’ अभियान चलाए ।

बुकिङ टिकट रद्द गरियो । दीपिकामाथि भद्दा गालीको भेल आयो । एसीडपीडित युवतीको वास्तविक कथामा बनाइएको फिल्ममा दीपिकाको अभिनय मात्र थिएन, लगानी पनि थियो । फिल्म फ्लप हुनुमा बिजेपी समर्थकको बहिष्कारको प्रधान भूमिका रहेकोमा सन्देह भएन । तर, दीपिका केही बोल्दै–बोलिनन् ।

९ महिना भयो, सत्ताको निकम्मा कर्तुतहरुको खरो प्रतिवाद गर्ने बौद्धिक थलो जेएनयूमा पुगेको ‘अपराध’को मुल्य दीपिकाले अहिले पनि चुकाउनु परेको छ । हठात् उनीमाथि ड्रग्स प्रयोग गरेको आरोप लागेको छ । म्यानेजरसँगको एक पुरानो सांकेतिक च्याटले उनलाई पिरोलेको हो । र, यसपटक पनि सत्ताको सवाई गाउने टेलिभिजन र सामाजिक सञ्जालले दीपिकालाई घोचिरहेका छन् ।

दीपिकामात्र होइन, साराअली खान, श्रद्धा कपुरजस्ता गिनेचुनेका अभिनेत्रीले ड्रग्स सेवन गरेको खबरहरु भारतीय मिडियामा छ्याप्छ्याप्ती भइरहेको छ । लागुऔषध ब्युरोले उनीहरुलाई ‘लगभग क्लिन चिट’ दिएको टाइम्स अफ इन्डियाले जनाएको छ तर यसअगावै सामाजिक सञ्जालमा यी अभिनेत्रीले चरित्रहत्या र गालीगलौज भोग्नु–भोगिसकेका छन् । यस्तो लाग्छ, हिरोइनलाई सामूहिक घृणा गर्ने यति दमदार मौका कहिल्यै मिलेकै थिएन । अचम्म त के भने यसमा कुनै पुरुष कलाकारको नाम मुछिएको छैन । यो अपमानको श्रृंखला रिया चक्रवर्तीलाई प्रहरीले पक्राउ गरेसँगै सुरु भयो । यसको मुल जरोचाहिं सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणसँग जोडिएको छ ।

बलिउड यतिविघ्न विवादित कहिल्यै बनेको थिएन, यति चर्को आलोचना कहिल्यै भोग्नु परेको थिएन । बलिउडका पीडितहरु यस्तै भन्न थालेका छन् । कतिले त सुशान्तको समाप्तीसँगै बलिउडलाई दशा लागेको ठोकुवा गरिरहेका छन् । घटनाक्रम हेर्दा होइन भन्न सकिने अवस्था छैन । सुरुमा सुशान्तको आत्महत्या भनिएको थियो, पछि उनको हत्या नै भएको वा आत्महत्या गर्न बाध्य बनाइएको न्यारेटिभ बलियो हुँदै गयो । मुम्बई र बिहार प्रहरीको आपसी खिचातानीबीच उनको मृत्यु प्रकरणलाई सिआईबीले अनुसन्धान गरिरहेको छ । यहीबिच सुशान्तकी प्रेमिका रिया चक्रवर्तीमाथि निशाना साँधियो । उनले सुशान्तको पैसा सिध्याएकोदेखि परिवारसँग छुटाइदिएको संगीन आरोप भोग्नुपर्‍यो । अतिरञ्जित कन्टेन्ट पस्कन लालायीत कतिपय मिडियाले त रियालाई ‘हत्यारा’ नै घोषणा गरिसकेका छन् ।

‘मिडिया ट्रायल’कै क्रममा रियाले ड्रग्स सेवन गरेको र सुशान्तलाई पनि ड्रग्स प्रयोग गराएको आशयका खबरले व्यापकता पायो । रियामाथिको आक्रमणमा बलिउड दुई फ्याक भयो । कंगना रनावतले एकोहोरो रियामाथि विषवमन गरिरहिन, तापसी पन्नुलगाएत केही कलाकारले रियाको बचाउ गरे । पत्रकार वर्षा दत्तले त वासिङटन पोस्टमा लेखिन नै– ‘रिया चक्रवर्तीको गाथा भारत महिलालाई घृणा गर्न कति मन पराउँछ भन्ने एउटा पाठ हो ।’ तर, रियालाई प्रहरी हिरासतमा पुर्‍याउनबाट कसैले रोक्न सकेन । सुशान्त प्रकरणमा मुछिएसँगै उनी पक्राउ पर्ने आशंका अनन्तः सत्य भएरै छोड्यो ।

रियाले प्रहरी बयानक्रममा साराअली, राकुल प्रितहरुले पनि ड्रग्स लिने गरेको बताएको अपुष्ट समाचारहरु बाहिरिए । रियाका वकिलले यसको खन्डन गर्दै रियाले कसैलाई नमुछेको बताइसकेका छन् तर स्त्रीद्वेषी मानसिकताबाट ग्रसित भारतीय समाजले हिरोइनलाई ड्रग्स प्रकरणमा बदनाम गर्दा मज्जा मानिरहेको छ । बयानकै लागि दीपिका गत बिहिबार गोवाबाट मुम्बई पुगेकी थिइन्, टेलिभिजनहरुले उनलाई यसरी पछ्याए की मानौं उनी खुंखार अपराधी हुन् । केही समयअघि रियामाथि मिडियाको यस्तै कुरुप हर्कत देखिएको थियो । ‘द प्रिन्ट’मा समीरा सुद लेख्छिन्– ‘कुनै समय उमर खालिद र कन्हैया कुमारजस्तै भारतीयसँग नयाँ नम्बर वान साझा शत्रु छन् । नामहरु परिवर्तन हुन्छन् तर गीत उस्तै रहन्छ, तिनीहरुलाई थुन्नुस् ।’ जेएनयुका पुर्वविद्यार्थीद्वय खालिद र कन्हैया भाजपा र नरेन्द्र मोदीका खरो आलोचक हुन् । दुवै माथि ‘देशद्रोही’को ट्याग लगाइएको छ ।

भारतको कुल ग्राहस्थ उत्पादनमा भारी गिरावट आएको छ, करोडौंले रोजगारी गुमाएका छन्, किसानहरु आन्दोलित छन्, चीनसँगको तनाव आकासिदो छ, कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ९५ हजार नाघेको छ, दैनिक संक्रमितको संख्या एक लाखको हाराहारीमा छ । तर, टेलिभिजन हेर्नुस्, यी सबै सरोकार गौढ छन्, कुन–कुन हिरोइनले कहिले कति ड्रग्स खाए, प्रधान विषय यो बनेको छ । प्राइम टाइममा यीनै विषयमा घनघोर बहस हुने गर्छ । गरिबीका कारण आफ्नो सन्तान बेच्न बाध्य असामको अभिभावक र राज्य प्रणालीको बेथितीका कारण आत्महत्या गर्न विवश किसानहरुले भने ‘स्पेस’ पाँउदैनन् । टिआरपीको फोहोरी प्रतिस्पर्धाकै कारण हुनुपर्छ, भारतमा व्यवसायिक पत्रकारिताको अवसान भएको दाबीमा पढेलेखेको जमातले सहमति जनाउन थालेको छ ।

तर, बलिउड, खासगरी हिरोइनमाथि यो क्रुर प्रहारमा मिडियाको मात्र स्वार्थ लुकेको छ त ? यो सवालउपर भारतमा असाध्यै कम बहस हुन्छ तर मिडिया र सिनेमा अध्येताले भने यसलाई वेवास्ता गरेका छैनन् । उनीहरुको निष्कर्ष छ– ‘आफ्नो कमजोरी ढाकछोप गर्न र मुल मुद्दाबाट आममान्छेको ध्यान अन्तै मोड्न मोदी सरकारले नै मिडियाको प्रयोग गरिरहेको छ । एकाधबाहेक सबै टेलिभिजन च्यानलबीच सनसनी मच्चाउन हानाथाप चलिरहेको छ ।’ भारतमा हामीकहाँभन्दा टेलिभिजनको प्रभाव ज्यादा छ, जनमानसनमा सिनेमाप्रति चासो असाध्यै प्रखर छ । ‘मोदीमैत्री मिडिया’ यसलाई अझ बलियो बनाएर आममान्छेलाई मुल मुद्दाबाट पर धकेल्न जोडबल गरिरहेका छन् । यसका लागि बलिउडलाई ‘मोहरा’ बनाइएको विश्लेषकहरु बताउँछन् । ‘मान्छेको ध्यान मोड्न दीपिकालाई नयाँ अफिम बनाइएको’ समीराको दाबी छ ।

तीतो–सत्य के हो भने जुन फिल्मकर्मीले सत्ताको सवाई गाउँदैनन्, उनीहरु मिडियाको निशानामा परिरहेका छन् । मिडियापछि सामाजिक सञ्जाल र प्रहरी प्रशासन जाइलाग्छ । दीपिकाझैं निर्देशक अनुराग कश्यप दह्रो उदाहरण हुन् । जेएनयूमा विद्यार्थीमाथि भएको आक्रमण, नागरिकता संशोधन विधेयकदेखि कोरोनाको व्यवस्थापनमा भएका कमजोरीसम्म अनुराग चुप बसेनन् । कहिले सडकमा उत्रिए, कहिले ट्वीटरमा । हालैमात्र उनीमाथि पायल घोष नामकी अभिनेत्रीले यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । प्रायोजित र नियोजित आरोप भन्दै कतिपय हिरोइनले नै अनुरागको पक्षमा आवाज उठाएका छन् । ट्रकीकी फस्ट लेडी इमिनी इर्डोगनलाई भेटेपछि अभिनेता आमिर खानले ‘देशद्रोही’ र ‘धोकेबाज’को तीर सहनुपर्‍यो । तर, मोदीको प्रशंसामा नथाक्ने अक्षय कुमार र कंगना रनावतचाहिँ सामाजिक सञ्जालतिर पनि प्रिय छन्, मिडियामा पनि । ‘बागी’ भनिएकी कंगना मोदीकी कट्टर भक्त बनेकी छन् ।

‘नेता अभिनेता ः बलिउड स्टार पावर इन पोलिटिक्स’ पुस्तकका लेखक रसीद किड्वाई भन्छन्, ‘चुप लागेर बस्, नत्र यो भन्दा नराम्रो हुन्छ भनेर अरु कलाकारलाई दिइएको संकेत हो यो ।’ अहिले बलिउडमा ‘भारतसँग’ वा ‘भारतको विरुद्धमा’ र ‘फुटाउ र राज गर’को माहोल बनाइएको उनको दाबी छ । जो सरकारको विरोध गर्छ, ऊ भारतविरोधी कहलिन्छ । ‘तर, नेताले बलिउडलाई प्रयोग गरेको यो नयाँ भने होइन,’ रसीदले द प्रिन्टसँग भनेका छन्, ‘भारतको सोचाई प्रक्रियामा नियन्त्रण गर्ने सबैभन्दा सजिलो माध्यम भनेकै बलिउडलाई नियन्त्रण गर्नु हो ।’ उनले पुस्तकमा नेहरु र पृथ्वीराज कपुरको दोस्ती अनि अटलबिहारी बाजपेयीको सिनेमाप्रेम उल्लेख गरेका छन् ।

मोदीले त सिनेकर्मी बोलाएर सेल्फी खिचाएनन् मात्र, चुनावको मुखैमा उनको बायोपिकसमेत बन्यो । तर, सत्ताको सदाबहार भजन गाउन नसक्ने सिनेकर्मी त्रस्त छन् । ‘बोल्यो की पोल्यो’को माहोल बनेपछि सामाजिक मुद्दामा तीन खान शाहरुख, सलमान र आमिर मौन बस्न थालेका छन् । बदनामीको डरले अरु बलिउडकर्मी आफ्नो मत राख्न भयभीत छन् । ‘मिडियाको अन्तहिन कभरेज राज्य–नियन्त्रित ध्यानभंगको प्याकेज हो,’ रसीदको निष्कर्ष छ ।

(एजेन्सीहरुको सहयोगमा / कान्तिपुर दैनिक)

(कान्तिपुर दैनिक)